लिपुलेक र कालापानीको प्रश्न होइन, प्रश्न लिम्पियाधुराको हो: सञ्चारमन्त्री (भिडियोसहित)

तस्बिरः बिएल नेपाली सेवा

सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले उत्तरी छिमेकी देश चीन र भारत दुवैतिरका सीमा समस्या समाधानका लागि सरकारले आफ्नो तर्फबाट चाल्नुपर्ने कदमलाई जारी राखेको बताए ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा सीमा एकीन गर्न मन्त्रिपरिषदले निर्देशन दिइसकेको उनले बताए। 'उत्तरतर्फको सीमा एकीन गर्न हाल मौसमले साथ नदिएकाले मौसम सुधार हुनसाथ प्रकृया अगाडि बढ्छ’ उनले भने।

उनले सुस्ता र महेशपुरमा नदीले धार परिवर्तन गरेकाले सीमा समस्या भएको भन्दै सीमाबारे हाम्रो जति चासो छ अर्को पक्षको पनि उत्तिकै चासो रहेको बताए।

‘सीमा समस्या समाधान गर्न न्यूनतम सहमति आवाश्यक हुन्छ। साथै राष्ट्रिय, अन्तराष्ट्रिय मुल्य, मान्यता र मापदण्ड पनि हुन्छन् । तिनलाई मान्दै क्रमशः समाधानको बाटोमा जाने हो’, मन्त्री बाँस्कोटाले भने, ‘सबैभन्दा पहिला विवादित स्थानबाटै काम सुरु गर्नुपर्छ।‘लिपुलेक र कालापानीको प्रश्न होइन, प्रश्न लिम्पियाधुराको हो। सार्वजनिक बहसभन्दा पनि सम्पूर्ण प्रमाण जुटाउने र एकले अर्काको कुरा सुन्ने वातावरण बनाउनुपर्छ।'

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ। सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ। यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ।

प्रकाशित मिति: : 2019-12-12 16:48:17

प्रतिकृया दिनुहोस्