स्थानीय तह निर्वाचन

यी हुन् गोकर्णेश्वरको उपमेयरका दाबेदार !

आउँदाे स्थानीय तहको निर्वाचन दिनानुदिन नजिकिँदैछ। चुनाव नजिकिएसँगै को–को उम्मेदवार बन्ने भन्ने चर्चा पनि सुरू भइरहेको छ। पार्टीले टिकट कसलाई दिने भन्ने निश्चित नभएपनि सम्भावित उम्मेदवारले आफ्नै तालमा चुनावी प्रचार–प्रसारलाई तीव्रता दिन थालिसकेका छन्। 

सोहीअनुसार गोकर्णेश्वर नगरपालिकामा पनि काे–को उम्मेदवार बन्छ भन्ने विषय प्रमुख बन्दै गएको छ। भित्र–भित्रै आकांक्षीहरू दौडधुपमा जुटेका छन्। तर, पार्टीले कसलाई टिकट दिने, कसले पाउने भन्ने अन्तिम निचोड आउन बाँकी नै छ। 

गोकर्णश्वर नगरपालिकाको उपमेयर बन्नका लागि नेपाली कांग्रेसबाट तीन जना आकांक्षी देखिएका छन्। हाल कांग्रेसबाट निर्वाचित शान्ति नेपाल उपमेयरका रूपमा देखिएकी छन्।

अघिल्लो ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अत्याधिक मत ल्याएर विजय बनेकी उनी फेरि उपमेयर बन्ने लाइनमा छिन्।उनले ८ हजार ५९८ मत ल्याउँदा एमाले उम्मेदवार शान्ति श्रेष्ठले भने ८ हजार ६२ मत ल्याएर पराजित भइन्। 

मेयरमा उठ्ने तयारी गरेपनि टिकट नपाउने संकेत पाएपछि उनी पुनः उपमेयरमा दोहोरिन चाहेकी हुन्। आफ्नो कार्यकाल सफल भएको बताउने उनी फेरि उपमेयर बनेर समाजसेवा गर्न चाहेको बताउँछिन्। उनको एक मात्र इच्छा छ– समाजको सेवा गर्ने। 

‘मेरो उदेश्य नै समाजको सेवा गर्नु हो,’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘सकुन्जेल समाजको सेवामा लागिरहनेछु।’

त्यस्तै अर्का आकांक्षी हुन्–रेखा अर्याल। उनी चामुण्डा मा.वि. र जया मल्टिपल क्याम्पसकी शिक्षिका हुन्। समाजको सेवा गर्न रूची राख्ने उनी समाजको भलोका लागि उपमेयरमा उठ्न चाहेको बताउँछिन्।

 ‘म उपमेयर बनेर नगरको सेवा गर्न चाहन्छु,’ उनले भनिन्, ‘उपमेयरको जिम्मेवारी राम्रोसँग बहन गर्न सक्छु। विद्यार्थीलाई पढाउने उनी राजनितीको नाम सुर्धान लागिपरिरहेकी छन्। 

‘राजनीति भन्ने बित्तिकै मान्छेको मष्तिकमा नराम्रो छाप आउँछ। राजनीतिको नाम बदनाम भएको छ। तर म त्यो बदनामलाई मेटाउन चाहन्छु। राजनीतिमा लागेर राम्रो काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘राजनीति गरेर राम्रो काम गर्न सकिन्छ भन्ने कुरा प्रमाणित  गर्न चाहन्छु, त्यसैले उपमेयरमा मेरो दाबी छ।’

उनको बुझाई अनुसार राजनीती भनेको जनताको सेवा गर्नु हो। ‘म उपमेयर बने भने समाजलगायत नगरको भलो गर्छु,’ उनले भनिन्, ‘नगरको धेरै विकास गर्नुछ।’

त्यसैगरी गिता सिम्खडाले पनि उपमेयरमा आफ्नो दाबी रहेको बताएकी छन्। नेपाली कांग्रेस बाग्मती प्रदेशकी सदस्य उनी उपमेयर बनेर समाजको सेवा गर्न चाहन्छिन्। उनले गत २०७४ सालको स्थानीय चुनावमा पनि उपमेयरकै दाबी गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-04-05 18:47:00

प्रतिकृया दिनुहोस्