मोबाइल गेमको ‘किरा’

अनलाइनखबर

काठमाडाैं

निश्चल बस्नेतलाई तपाईं के भन्नुहुन्छ ? निर्देशक ? अभिनेता ? डान्सर ? गायक ? मोडल ? वा अरु पनि केही।

नेपाली चलचित्रमा उनको धमाकेदार प्रवेश भएथ्यो, ‘लुट’ बाट। यही चलचित्रबाट उनले ‘ट्रेन्ड सेटर’को तक्मा पाए। ‘टलकजंग भर्सेस टुल्के’ जस्ता खँदिलो चलचित्रमा उनको जुन निर्देशकीय कौशल देखियो, त्यसबाट उनी समकालीन निर्देशकभन्दा अब्बल सावित भए। यही विन्दुमा आइपुगेपछि भने निश्चलले आफूलाई अरु बिस्तारित गरे। कहिले अभिनेताको रुपमा त कहिले गायकको रुपमा। हुँदा-हुँदा म्युजिक भिडियो समेत निर्देशन गरे। आफैं अभिनय गरे।

कला पारखीका लागि उनी सम्पूर्ण प्याकेज बने। भलै यसलाई कतिले ‘अधोगति’ भन्लान्, कतिले ‘खुम्चिएका’ ठान्लान्। के एउटा निर्देशकले डान्सर बन्नु हुँदैन ? अभिनेता बन्नु हुँदैन ? गायक बन्नु हुँदैन ? सम्भवतः निश्चल यस्तै रक्षात्मक जवाफ साँचेर बसेका होलान्।

एउटा ठट्यौली छ नि, ‘सुकेको ज्यानमा लुकेको कला।’ निश्चल आफैँमा मनोरञ्जनका पूर्ण प्याकेज जस्ता छन्। उनी के जान्दैनन् ? नाच्न, गाउन, अभिनय गर्न। त्यसबाहेक अर्को कुरा पनि छ, उनी खेलाडी हुन्। अभिनेत्री तथा निश्चलकी जीवनसँगी स्वस्तिमा खड्काले बेलामौकामा भन्ने गर्छिन्, ‘निश्चल पब्जी भनेपछि हुरुक्कै हुन्छन्।’ यो आरोप भन्दापनि यथार्थ हो। त्यसैले त निश्चलको स्वीकारोक्ति छ, ‘फुर्सद मिल्नासाथ मोबाइलमा गेम खेल्न थाल्छु।’

प्रकाशित मिति: : 2019-12-25 04:13:57

प्रतिकृया दिनुहोस्