युनाइटेड मधेसी अफ नेपालका राजन पटेल म्यान अफ दि म्याच घोषित। उनलाई नै म्यान अफ दि सिरिज पनि घोषित गरियो।
पहिलो मदन भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट च्याम्पियनसिप–२०१९ को उपाधि युनाइटेड मधेसी अफ नेपाल (ग्लाइडियटर) टिमले जित्न सफल भएको छ। राजधानी दिल्लीमा भएको फाइनल साउथ एसियन युनिभर्सिटीलाई ६९ रनले पराजित गर्दै ग्लाइडियटरले उपाधि जितेको हो।
प्रतियोगितामा कूल आठ टिम सहभागी थिए।
टस जितेर पहिलो फिल्डिङ रोजेको साउथ एसियन युनिभर्सिटी क्रिकेट क्लबविरूद्ध ग्लाइडियटरले ९ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो। प्रतिउत्तरमा साउथ एसियन युनिभर्सिटी ८३ रनमा अलआउट भयो।
प्रतियोगितामा युनाइटेड मधेसी अफ नेपालका राजन पटेल म्यान अफ दि म्याच घोषित भए। उनलाई नै म्यान अफ दि सिरिज पनि घोषित गरियो। प्रतियोगितामा ४ छक्का हानेका ग्लाइडियटरकै युवराज सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान बने।
नेपाली क्रिकेट टिमले फेयर प्लेको अवार्ड जित्यो। प्रतियोगितामा नेपाली क्रिकेट क्लब, राइजिङ स्टार क्रिकेट क्लब, युनाइटेड मधेसी अफ नेपाल(ग्लाइडियटर), अखिल क्रान्तिकारी क्रिकेट क्लब, राष्ट्रिय विद्यार्थी संघ क्रिकेट क्लब, साउथ एसियन युनिभर्सिटी क्रिकेट क्लब, सारदा युनिभर्सिटी क्रिकेट क्लब र रमाइलो क्रिकेट क्लब गरि कूल आठ टिमको सहभागिता थियो।
मदन भण्डारी फाउन्डेशनअन्तर्गत मदन भण्डारी स्पोर्टस एकेडेमी नेपालले आयोजना गरेको प्रतियोगिताले खेलप्रति अभिरूचि भएका तर खेल्ने वातावरणबाट बञ्चित प्रवासी नेपालीलाई उत्साहित तुल्याएको छ।
तीन दिन चलेको प्रतियोगिताको उद्घाटन भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले गरेका थिए। फाइनलमा नेपाली दूतावासका राजनीतिक काउन्सलर हरिप्रसाद ओडारी र कल्चरल काउन्सलर होमप्रसाद लुइँटेलको उपस्थिति थियो।
मदन भण्डारी स्पोर्टस एकेडेमी भारत प्रवास इन्चार्ज गोपाल थापाले खेलप्रति अभिरुचि भएका बिभिन्न संघ–सस्थाका प्रतिनिधि, जिम्मेबार व्यक्तित्व, खेलाडीलगायत खेलप्रेमीलाई सहयोगका लागि धन्यबाद भने। समापन समारोहमा साउथ एसियन युनिभर्सिटीका प्रोफेसर डाक्टर युवराज पोखेरल बिशिष्ट अतिथि थिए।
कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रिय उपाध्यक्ष सीता अधिकारी, प्रभु बैंक भारत प्रतिनिधि सुनिल मिश्र, उद्योगपति सुनिल गुप्ता, एकडेमीका सल्लाहकार छबिलाल जोशीलगायत दर्जनौ संघ संस्थाका प्रतिनिधि सलंग्न रहेका थिए।
एकेडमीका खेल संयोजक राज ढकाल, सीए सुबास भट्ट र नवीन नेपालको सहसंयोजकत्वमा तीन दिने खेल सम्पन्न गरिएको थियो। कार्यक्रममा भ्रमण वर्ष–२०२० को लोगो समेत खेलाडीको ड्रेस, व्यानर र पोस्टरमा छपाइएको थियो।