गोकर्ण रिसोर्टसँग सस्तोमा होइन बजार मूल्यमा सम्झौता गरियो: उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको स्पस्टोक्ति दिएका छन्।

राष्ट्रियसभाको बिहिबारको बैठकमा सांसदहरुले उठाएका बिभिन्न जिज्ञासाको जवाफ दिदै उपप्रधानमन्त्री पोखरेलले बाहिर बहसमा ल्याइएजस्तो उक्त सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको जिकिर गरे।  

नेपाल ट्रष्टको कार्यालय र रिसोर्ट सञ्चालक कम्पनी यति होल्डिङ्ग्सबीचको सम्झौता अवधि पाँच वर्ष बाँकी रहेको अवस्थामा रिसोर्टले लगानीसहित नयाँ संरचना बनाउन थालेकाले उसको मागबमोजिम सरकारले ५० वर्षका लागि नवीकरणको निर्णय गरेको थियो। उक्त कम्पनीसँग शुरुमा २०६६ वैशाख ५ मा सम्झौता भएको थियो। ट्रष्टको २०७० माघ २६ को निर्णयबाट लिज सम्झौता नवीकरणको निर्णय भएको थियो।  

ट्रष्टको ऐनमा प्रधानमन्त्रीले तोकेको मन्त्री ट्रष्टको अध्यक्ष हुन सक्ने कानूनी प्रावधानअनुसार आफू ट्रष्टको अध्यक्ष भएको स्पष्ट गर्दै उनले यसमा यथार्थ र तथ्यहरु बुझेर कुरा आओस् भन्ने चाहेको बताए। उपप्रधानमन्त्री पोखरेलले ट्रष्टले सम्झौता पुनरावालोकनका लागि गठन गरेको कार्यदलको प्रतिवेदनका आधारमा मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिएको बताए।

उनले चार्टर एकाउन्टेन्ट संस्था, नेपाल पर्यटन बोर्ड र गोकर्णेश्वर नगरपालिकासँगसमेत फेयर मार्केट भ्याल्यु मूल्याङ्कन तथा वातावरणीय पक्षबारे जानकारी लिइएको पनि स्पष्ट पारे।  पुरानो सम्झौताअनुसार बाँकी पाँच वर्षको अवधिमा थप साढे चार करोड ८३ हजार रकम आउने र यसबाट अप्रत्यक्ष लाभका  रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र सम्पतिको संरक्षण हुने बताए। 

प्रकाशित मिति: : 2019-12-27 02:16:00

प्रतिकृया दिनुहोस्