सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको घोटालाबारे सरकारले छानबिन गर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका छन्। 

बालुवाटारमा शनिबार आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको समेत बताए। पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा लगाइएको ओलीले दाबी गरे। प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वको सफलताको प्रसंसा गर्न नसक्ने नेता विपक्षीले भन्दा अगाडि आएर विरोधमा मात्रै बोलेको आरोप पनि लगाए। 

यसअघि नेकपाकै नेता भीम रावलले केही दिनअघि सम्पन्न नेकपा स्थायी समितिमा राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाले गठबन्धन गर्नेबारे आक्रोश व्यक्त गरेका थिए। त्यस्तै प्रधानमन्त्री ओलीले प्रदेश २ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको जिकिर गरे । उनले अहिलेको अवस्थामा सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताए। 

७० वर्षको अनुभवले मुलुक र पार्टी चलाइरहेको भन्दै ओलीले कुनै पनि हालतमा पार्टी र सरकारको डुंगा डुब्न नदिने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले अहिले राजनीतिलाई विस्थापित गराउने र अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको पनि बताए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको बताए। केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको  उल्लेख गर्दै उहाँले त्यो कुनै हालतमा सफल हुन नसक्ने उल्लेख गरे।

कार्यक्रममा महासचिव विष्णु पौडेलले पार्टी र सरकारको निर्देशन अनुसार प्रेस सङ्गठन प्रतिवद्ध भएर परिचालित हुनुपर्ने  बताए।  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सङ्गठनलाई पार्टीको गुट, वा उपगुट, यो नेता वा त्यो नेता नभनि पार्टीको वैचारिक कुरालाई आत्मसात गर्नुपर्ने बताए। 

प्रकाशित मिति: : 2019-12-30 03:03:07

प्रतिकृया दिनुहोस्