तस्करीमा चिनियाँ कनेक्सन, नेपाल बन्दैछ ट्रान्जिट प्वाइन्ट

फितलाे कानुनका कारण आपराधिक कार्य गर्ने विदेशीहरुका लागि नेपाल सुरक्षित स्थल बन्दै गइरहेकाे छ।

डिल्ली पाण्डे

काठमाडाैं

गत सोमबार राजधानीबाट १ सय २२ चिनियाँ नागरिक पक्राउ परे। केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल बसेर लामो समयदेखि अनलाईनमार्फत अपराधिक गतिविधि गर्दै आइरहेका चिनियाँलाई नियन्त्रणमा लियो। 

अपराधिक गतिविधि सञ्चालन गर्न उनीहरूले पर्यटन भिषामा नेपाल बसेर साविक मूल्यभन्दा तेब्बर दरमा घर भाडा लिएका थिए। 

पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र मुद्धा दायर गरिसकेकाे छ। र अदालतले पनि पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएकाे छ। 

‘म्याद थप भइसकेकाे छ। अब अनुसन्धान अगाडी बढ्छ। उनीहरूको अपराध के हो खुल्ने छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बिएल नेपाली सेवासँग भने।

प्रहरी नियन्त्रणमा पर्ने चिनियाँ अधिकांश युवा छन्, जसमा केही महिलाकाे पनि सल‌ंग्नता छ।  

फितलाे कानुनका कारण आपराधिक कार्य गर्ने विदेशीहरुका लागि नेपाल सुरक्षित स्थल हो। यसमा पनि पछिल्लाे समय चिनियाँ नागरिक पटकपटक पक्राउ पर्दै आइरहेका छन्। भारतीयपछि नेपालमा सबैभन्दा धेरै पक्राउ पर्ने विदेशीमा चिनियाँ नागरिक नै हुन्।

चिनियाँहरु सुन तस्करी, डलर सटही, वन्यजन्तुको अंग ओसारपसारदेखि लागुऔषध कारोबारमा समेत सलंग्न देखिएका छन्।

सुन तस्करीमा चिनियाँ 

नेपालमा अवैधरुपमा सबैभन्दा ठूलो परिमाणमा भित्रिएको ८८ केजी सुन प्रकरणमा चिनियाँ नागरिक संलग्न थिए।

राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद भएको थियो। ठमेलमा रहेको होटल वनका सञ्चालक चिनियाँ नागरिक विई मिङका ड्राइभर मनोज अधिकारीले चलाएको बा १७ च ६४२७ गाडीबाट भदौ १९ गते ८८ केजी सुन बरामद भएको थियो। यसपछि रसुवा नाका हुँदै नेपाल भित्रिने अबैध सुनमा चिनियाँ नागरिकको संलग्नता पुष्टी भएकाे थियाे। 

गत मंसिरमा इएच ५८०७५९८ राहदानी भएका चेन इङचुहाङ र इएच ६५९६६३७ राहदानी बोकेका चेन क्युङहाङलाई विमानस्थलमा खटिएका प्रहरीले सुनसहित नियन्त्रणमा लिएका थिए। उनीहरूले एक–एक केजीका आठ टुक्रा सुन अन्डरवेयरमा लुकाएर ल्याएका थिए।

मानव तस्करीमा चिनियाँ 

गत भदौंमा मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव तस्करी गरेको अभियोगमा चार चिनियाँ नागरिकलाई नियन्त्रणमा लियाे। उनीहरूले लामो समयदेखि विवाहको प्रलोभन दिँदै नेपाली युवतीलाई चीनमा तस्करी गरिरहेका थिए। नेपाली युवतीलाई विवाह गराए बापत काठमाडौंमा रहेका चिनियाँ दलाललाई दश लाख रुपैयाँसम्म बुझाइएकाे तथ्य प्रहरीकाे अनुसन्धान पछि खुलेकाे छ।   

बैक ह्याकिङमा पनि चिनियाँ 

प्रहरीले एटिएम ह्याकिङमा पनि चिनियाँ नागरिकालाई नियन्त्रणमा लिएको थुप्रै उदाहरण छ। गत भदौंमा प्रहरीले दरबारमार्गबाट ह्याकर समूहलाई नियन्त्रणमा लिएको थियो। 

प्रहरीले गत भदौंमा बैंक ह्याकिङ गर्ने चिनियाँ लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो। 

उनीहरूबाट बैंक ह्याक गरिएको १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद भएको थियो। पक्राउ परेका चिनियाँलाई उच्च अदालत पाटनले थुनामा पठाइसकेको छ।

लागु ‌औषध कारोबारमा पनि चिनियाँ

गत मंसिरमा लागु ‍औषध नियन्त्रण ब्यूरोले लागुऔषध बनाउने रसायनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

ब्यूराेले लागुऔषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक चिनियाँ नगारिकलाई पक्राउ गरेको हो।

न्युजिल्याण्ड पठाउन लागिएको रसायनसहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ परेका थिए। निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला परेकाे थियाे।

‘नेपालमा चिनियाँहरुकाे अपराध बढ्नु चुनाैतिकाे विषय हाे’, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बोगटी भन्छन्–‘चिनियाँ लगायत अन्य देशका नागरिकहरुकाे अपराधलाई कम गर्न प्रहरीले नयाँ रणनीति बनाएर अगाडी बढ्नु जरुरी भइसकेकाे छ र हामी यसकाे तयारीमा छाैं।’ 

 

प्रकाशित मिति: : 2019-12-30 05:24:12

प्रतिकृया दिनुहोस्