उपराष्ट्रपति पुनद्वारा तमू ल्होसारकाे शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमू (गुरुङ) समुदायको महान पर्व तमू ल्होछार/ल्होसारको शुभकामना दिएका छन्।

उपराष्ट्रपति पुनले मङ्‍गलबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तमू ल्होछार/ल्होसार-२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमूहरूलाई सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो। अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरङ्‍गी सम्मिश्रण एवम् साझा सङ्‍गमको रूपमा रहीआएको नेपाल सामाजिक सद्‍भाव र सौहार्दताका लागि संसारभरि नै सुपरिचित छ,’ उपराष्ट्रपति पुनको सन्देशमा छ, ‘नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरू छन्। विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्वहरु नेपालीको साझा चाडपर्व हुन्।’

पुराना वर्ग (वर्ष)को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले मनाउने तमू ल्होछार/ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रूपमा स्थापित हुँदै गएको उनले सन्देशमा उल्लेख गरेका छन्। ‘मृग वर्गको बिदाइ र मुसा वर्गको स्वागत गर्दै मनाइने यो वर्षको ल्होछार/ल्होसार तमू समुदायले हर्षोल्लासका साथ मनाउने मेरो विश्वास छ,’ उनले भनेका छन्।

हाम्रा धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरूले सामाजिक एकता, सद्‍भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन योगदान दिँदै आएको उपराष्ट्रपति पुनले बताएका छन्। ‘तमू ल्होछार/ल्होसारले सम्पूर्ण नेपालीहरूबीच आपासी सद्‍भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु। साथै, यी पर्वहरूका माध्यमबाट नेपालको मौलिकता संरक्षण र सम्वद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षासमेत लिएको छु,’ उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-12-31 21:44:43

प्रतिकृया दिनुहोस्