सरकार विदेशी शक्तिका सामु लम्पसार पर्‍यो: विप्लव समूह

 विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारमाथि ‘संकटकाल बिर्साउने गरी’ आफ्ना कार्यकर्ता गिरफ्तार गर्न थालेको आरोप लगाएको छ।

सो पार्टीका पूर्वी केन्द्रीय कमाण्ड विषमले विज्ञप्ति जारी गर्दै राष्ट्रियता रक्षाको आन्दोलनमा आवाज उठाउँदा आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई गोली हान्ने, झुठा मुद्दा लगाउने, जेल–हिरासतमा पठाउने कार्यले वर्तमान सरकार वास्तविक शान्तिका पक्षमा नभएको बुझ्न सकिने प्रष्ट पारेको बताएको छ।

‘हाम्रो पार्टी केपी सरकारको उक्त रवैयाको घोर भत्र्सना र निन्दा गर्दै गिरफ्तार गरिएका कमरेडहरुलाई विना शर्त रिहाइको माग गर्दछ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘भारतीय हस्तक्षेपविरुद्ध आन्दोलन गर्दा प्रहरी दमन गर्ने सरकार विदेशी शक्तिका सामु लम्पसार परिरहेको छ। ’

आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट गिरफ्तार गरिएको जनाएका छन्।  

आफ्ना पार्टीका नेता–कार्यकर्ताको विनाशर्त रिहाइ माग गर्दै रिहा नगरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनीसमेत दिएका छन्।


 

प्रकाशित मिति: : 2020-01-01 23:48:33

प्रतिकृया दिनुहोस्