बूढानीलकण्ठमा देउवाले बाेलाएकाे 'न्यु इयर मिटिङ' पनि पौडेल पक्षबाट बहिष्कार

पार्टी सभापति शेरबहादुर देउवाले अंग्रेजी नयाँ वर्षको दिन बुधबार बूढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठक 'न्यु इयर मिटिङ'लाई रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले बहिष्कार गरेको छ।

सभापति देउवाले पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा सहमति जुटाउन बुधबार अपरान्ह निवासमै पदाधिकारी बैठक बोलाएका थिए। अंग्रेजी नयाँ वर्षको दिन अपरान्ह ५ बजे जलपानसहित डाकिएको बैठकमा असन्तुष्ट पक्षका नेता सहभागी भएनन्।  

पार्टी उपसभापति विमलेन्द्र निधि सोमबार बिहान पौडेल निवास बोहराटार पुगेका थिए। तर त्यहाँ खासै वार्ता भएन। पौडेलले 'तपाईहरु पेलेर निर्णय गर्दै जाने अनि सहमतिको नाटक गर्नेु भन्दै आक्रोश पोखेका थिए। पौडेलले 'तपाईहरु मन लागेको निर्णय गर्दैजानुस्, हामी पनि के गर्न पर्छ गर्छौ' भनेका थिए।  

असन्तुष्ट पक्षको बहिष्कार र विरोधबीच पुस ११ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको क्यालेन्डर पारित गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि कांग्रेसको भित्रको आन्तरिक किचलोले जटिल मोड लिएको हो। त्यो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्‍त्री सशांक कोइराला, प्रकाशमानसिंह, डा रामशरण महत, कृष्णप्रसाद सिटौलालगायतका असन्तुष्ट पक्षका नेता सहभागी थिएनन्।

संस्थापन पक्षको बहुमतमा केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्‍ने, विभाग संख्या ४७ पुर्‍याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्‍नेलगायतका निर्णय गरिएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-02 11:58:46

प्रतिकृया दिनुहोस्