उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताए। कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको जोड छ ।

उनले भने, ‘सबै किसानलाई सङ्गठित र जागरुक गराउन आवश्यक छ, उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छ।’ मासु, अण्डा, फलफूल र तरकारीमा देश आत्मनिर्भरताको दिशातर्फउन्मुख भएको उहाँले बताउनुभयो । संविधानले नेपालको अर्थ व्यवस्थालाई तीन खम्बे नीति भनेर परिभाषित गरेको छ । उनले भने, ‘त्यसमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारीको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपमा अघि बढ्छ ।’

अध्यक्ष दाहालले पार्टी र सरकार दुवैले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउँदै लगेको बताए।

समाजमा पछि परेका समुदायलाई सङ्गठित गर्दै वृद्धि विकाससँगै सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। अध्यक्ष दाहालले नेपालको संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको बताए । ‘पुरानो व्यवस्थाले शोषण र विभेद गरेको वर्ग समुदायलाई अगाडि ल्याउने, आत्मनिर्भर बनाउने र उनीहरुको जीवनलाई समग्र विकासको साझेदार बनाउने परिकल्पना हामीले गरेका छौँ’, उनले भने।

नेपाल कृषि, सहकारी केन्द्रीय सङ्घले कूल तीन करोड ८० लाखको लागतमा भवन निर्माण गरेको हो । जसमा नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानी रहेको छ ।

प्रकाशित मिति: : 2020-01-03 03:48:00

प्रतिकृया दिनुहोस्