जीतपुरसिमरा : गठबन्धनको ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

एमालेसँग फराकिलो मतअन्तरले विजय हुने गठबन्धनको दाबी

जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको पाँच वर्षे कार्यकालपछि नेतृत्व फेर्न आवश्यक रहेको भन्दै पाँच दलीय गठबन्धन एकजुट बनेसंगै बुधबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

पाँच बर्षे कार्यकालमा विभिन्न आरोप खेपेको उपमहानगरमा बलियो शक्तिका रुपमा दाबी गरिरहेको एमालेको नेतृत्वलाई आसन्न स्थानीय तहको निर्वाचनले बिदा दिने गठबन्धनको तयारी छ।

गठबन्धनमा साझेदार बनेका पाँच दलले मेयरमा माओवादी र उपमेयरमा कांग्रेसलाई स्वीकार गरी केही वडा तहमा पनि साझा उम्मेदवार अगाडि सारेको छ भने केहीमा आ-आफ्ना उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुने भएको बताइएको छ।

साझा गठबन्धन नेकपा माओवादीको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेल र कांग्रेसबाट उप-प्रमुखकी उम्मेदवार मेघा शाहीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

पाँच दलकै प्रतिनिधिको उपस्थितीमा सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साझा गठबन्धनले बुधबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेकपा एमालेसंग फराकिलो मत अन्तरले विजय हासिल गरिने दाबी गर्यो।

प्रतिबद्धता सार्वजनिक गर्दै मेयर उम्मेदवार राजन पौडेलले नगरको सबै क्षेत्रमा कायापलट हुनेगरी परिवर्तन आवश्यक रहेको भन्दै नेकपा एमालेको नेतृत्व रहेको उपमहानगरलाई सेवा ग्राहीमुखी बनाउन निकै कसरत गनुपर्ने धारण राखे।

‘भद्रगोल छ, जगदेखि नै सुधानुपर्ने अवस्था छ’, उनले भने, ‘हामीले घोषणा गर्ने भन्दापनि काम गरेर देखाउनुछ, जनताले एक पटक विश्वास मात्रै गरुन्।’

यसैगरी स्नातकोत्तर तह उतीर्ण गरेकी तथा कानुनकी विद्यार्थीसमेत रहेकी उपमेयर उम्मेदवार मेघा साहीले उपमहानगरको न्याय प्रणालीलाई देशकै नमुना न्याय सम्पादनका रुपमा हेरिने गरी काम गर्न सक्ने क्षमता आफूमा भएको दाबी गरिन्।

प्रतिबद्धता पत्रमा प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा संस्कृती, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सुचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, खानेपानी तथा सरसफाई, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, गरिब तथा भूमिहिन व्यवस्थापन, सहकारी तथा संघ-संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई jlशेष जोड दिइएको छ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, कांग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरु, एकीकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाललगायतको उपस्थिति रहेको थियो।

नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राजु अधिकारीले गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2022-05-05 12:48:00

प्रतिकृया दिनुहोस्