संसद्मा युवाका मुद्दा उठाउने प्रतिबद्धता

रासस

काठमाडौँ
तस्बिर : एजेन्सी

सांसदहरूले युवाका मुद्दा विशेषगरी यौनिकता शिक्षामा केन्द्रित बहसको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

युवा संस्था सञ्जाल नेपाल (आयोन)ले आयोजना गरेको सांसदसँग युवा सम्वाद कार्यक्रममा सांसदद्वय लक्ष्मी परियार र डा विमला राई पौडेलले युवा वर्गलाई सशक्तरूपमा देश विकासमा लैजाने गरी नीति एवं कानून निर्माणको पहलकदमी गर्ने प्रतिबद्धता जनाइन्।

 कार्यक्रममा सांसद परियारले प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी विषय पाठ्यक्रममा समावेश नगरिँदा धेरै युवायुवतीमा नकारात्मक प्रभाव परेकाले सही जानकारी दिनुपर्ने बताइन्।

 पाठ्यक्रममा यस्ता विषय राखिए युवा जगत् विकृतिबाट टाढा जाने उनको विचार थियो।सांसद पौडेलले युवाका समस्याका बारेमा सही नीति निर्माण हुनसके नकारात्मक रूपमा खर्च हुने युवा शक्तिलाई सकारात्मक काममा प्रयोग गर्न सकिने बताइन्। 

कार्यक्रममा सहभागी युवाले सांसदलाई आफूसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न गरेका थिए।संवादपछि सांसदले युवाका मुद्दा संसद्मा उठाउने प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धता पत्रमा सांसद मनकुमारी जिसीले पनि हस्ताक्षर गरेकी छिन्। 

“शान्ति, उद्यमीशलता, पर्यटन र दिगो विकासका लागि परिवर्तनका संवाहक युवा” भन्ने मूलनाराका साथ संस्थाको १४औँ साधारणसभालाई सम्बोधन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले युवालाई सम्बोधन गर्ने गरी नीति कार्यक्रम ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

युवा मन्त्रालय र राष्ट्रिय युवा परिषद्को गठन राष्ट्रिय युवा नीति, युवा रोजगार कार्यक्रमलगायत युवासँग सम्बन्धित विषयमा आयोनले निर्वाह गरेको भूमिकाको उनले सराहना गरेका थिए। 

पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले वार्षिक पाँच लाख युवालाई रोजगारी दिने आश्वासन दिएर सरकारले पूरा गर्न नसक्दा युवा श्रम बेच्न खाडी मुलुक जान बाध्य हुनुपरेको बताए। 

युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले विगतको जनगणनाले एक करोड सात लाखभन्दा बढी युवाको जनसङ्ख्या देखाए पनि हाल वार्षिक बजेट भने रु सात करोडमात्र युवाका लागि विनियोजन भएकोमा आपत्ति जनाए। युवालाई स्वतन्त्रताबाट विमुख गराउने गरी कानून निर्माण भइरहेकामा पनि उनले गुनासो गरेका थिए।

संस्थाको चौंधौँ वार्षिकोत्सवको अवसरमा आयोनले युवा अभियानकर्मी तथा आयोनका संस्थापक अध्यक्ष राजेन्द्र मुल्मीलाई सम्मान गरेको थियो। यसैगरी स्वयंसेवकमध्ये उत्कृष्ट बन्न सफल भानुभक्त पाण्डेलाई सर्वोत्कृष्ट स्वयंसेवक पदकबाट सम्मानित गरियो। 

चौंधौँ साधारणसभाले २६ बुँदे साङ्गठनिक घोषणापत्र जारी गरेको छ भने सरकार र सरोकार भएका निकायसँग छ बुँदे सुझावसहितको माग तथा ऐक्यबद्धता पनि सार्वजनिक गरेको आयोनका अध्यक्ष जगदीशकुमार ऐरले जानकारी दिए।   

महासचिव निरज वागले प्रस्तुत गरेका साङ्गठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जितबहादुर खड्काले प्रस्तुत गरेका संस्थाको आर्थिक प्रगति प्रतिवेदन पनि ४४ जिल्लाका ९२ युवासम्बन्धी संस्थाको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिले पारित गरेका थिए। 

प्रकाशित मिति: : 2020-01-06 04:54:43

प्रतिकृया दिनुहोस्