स्थानीय तह निर्वाचन

गठबन्धन : कसको भागमा पर्ला पोखरा महानगर ?

सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल हुने पक्कापक्की भइसक्यो। अब केन्द्रदेखि स्थानीय तहको चुनावमा गठबन्धन सँगै हुने छ। चुनावी तालमेल त हुने भयो। तर, मुख्य शक्ति केन्द्र कसको भागमा पर्ला ? अहिले मुख्य चासोको विषय हो यो।

देशका प्रमुख ठूला सहर भरतपुर महानगरपालिका र पोखरा महानगरपालिका कसको भागमा पर्ला? अहिलेको राजनीतिको ‘हट केक’ बनिरहेको छ, यो विषय।

हिजो मात्रै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी तालमेल भए पनि आफ्नै कार्यकर्तालाई चुनावी तालमेल गरिरहेको दलको चुनाव चिन्हमा भोट हाल्न गाह्रो पर्ने आशयको अभिव्यक्ति सार्वजनिक भएको छ। कोइरालाले चुनावी तालमेल भए पनि चुनावमा गठबन्धनमा सहभागी दलबाटै घात हुन सक्ने संशय पनि व्यक्त गरेका थिए।

सत्ता साझेदार अन्य दलमा सेयरिङमा कुनै आपत्ति नदेखिए पनि कांग्रेस भने दुई खेमामा विभाजित थियो। एक पक्ष चुनावी तालमेल गर्ने पक्षमा र अर्को, एक्लै चुनाव लड्ने पक्षमा।

यसबाट पनि के प्रष्ट हुन्छ भने एक्लै चुनाव लड्दा हारको डर छ कांग्रेसमा। अन्य दलमा त स्वत हुने नै भयो। शक्ति हात पार्न राजनीतिक दल कतिसम्म खस्न सक्छन् भन्ने गतिलो उदाहरण पनि हो यो। शक्ति हात पार्नु छ। तर, एक्लैले सक्दिनँ भन्ने भय पनि उत्तिकै छ।

कसले पाउला पोखरा महानगरको टिकट

हालै पोखरामा आयोजित एक कार्यक्रममा गठबन्धनका तीन नेतालाई बोलाइएको थियो। पोखरा महानगर र स्थानीय तह निर्वाचनमा केन्द्रित सो कार्यक्रममा प्रश्नकर्ताले सोधेका थिए- पोखरा महानगरबाट साझा उम्मेदवार कुन पार्टीबाट बन्ने ?

छलफलमा सरिक गठबन्धनका तीन नेता मध्येका कांग्रेस कास्की सभापति किशोरदत्त बरालले ठूलो पार्टीको हैसियतले आफ्नो दलकाे नै पोखरा महानगरमा दावी रहने बताएका थिए।

यस्तै, माओवादी पोखरा महानगर कमिटीका विश्वप्रकाश लामिछानेले कांग्रेसले अघिल्लो निर्वाचनमा माओवादीले लगाएको पैँचो तिर्नुपर्ने तर्क गरे।अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र कांग्रेस चुनावी तालमेलमा थिए।

छलफलमा सरिक अर्का नेता नेकपा एसका धनराज आचार्यले गठबन्धनको भाग आफूहरुलाई पनि चाहिने बताए। पोखरा महानगरमा आफ्नो पार्टीको भन्दा उपयुक्त उम्मेदवार अर्को नहुने उनको आशय थियो।

सार्वजनिक कार्यक्रममै अभिव्यक्त यो भनाईले पनि प्रष्ट हुन्छ कि, पदकै लागि गठबन्धनबीच तीव्र मतभेद छ। शक्ति केन्द्रमा हाबी हुनुपर्ने अर्को बाध्यता त छँदै छ। भलै, गठबन्धन गर्नुपर्ने बाध्यता होला दलहरुका। तर, शक्ति केन्द्र जसरी पनि आफ्नो केन्द्रमा पार्नु पनि छँदै छ।

देशको प्रमुख पर्यटकीय केन्द्र हाे पोखरा, क्षेत्रफलको हिसाबले पनि सबैभन्दा ठूलो महानगर हो। पोखरा महानगरको चुनाव यो अर्थ पनि रोचक बन्नेवाला छ, यसै चुनावमा पोखरामा ३९ हजार मतदाता थपिएका छन्।

२०७४ सालको चुनावमा कांग्रेस-माओवादीले चुनावी तालमेल गरे पनि नतिजा एमालेको पक्षमा गएको थियो। हालका पोखरा महानगरका मेयर र उपमेयर दुवै एमालेबाट निर्वाचित हुन्।

राजनीतिक प्रभावका हिसाबले एमाले अन्य दलभन्दा केहीअघि देखिए पनि अहिले चुनावमा फुटको असर स्वत पर्न जान्छ। यद्यपि चुनाव हो, नतिजा कसको हातमा पर्छ यसै भन्न सकिन्न। कांग्रेस नेता शेखर कोइरालाको शंकाजस्तै चुनावी तालमेल गरिरहेका दलबाटै घात हुन पनि के बेर!

प्रकाशित मिति: : 2022-04-06 13:32:00

प्रतिकृया दिनुहोस्