कैलालीमा छाउपडी प्रथाविरुद्ध विशेष अभियान सञ्चालन

रासस

लम्की
तस्बिर : एजेन्सी

कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ।
 
नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट संयोजक रहेको समिति गठन गरिएको हो। समितिले कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। 

समितिको उपसंयोजकमा सामाजिक विकास समितिका संयोजक दीर्घ ठकुल्ला, सबै वडाध्यक्ष, अगुवा महिला तथा सञ्चारकर्मी, टीकापुरका प्रहरी प्रमुखलगायत सदस्य छन्। 

नगरप्रमुख तपेन्द्र रावलले अब छाउपडी प्रथा सामाजिकरूपमा कुप्रथा मात्र नभएर कानूनीरुपमा दण्डनीय अपराधसमेत भएकाले नगरपालिकाले यसलाई कार्ययोजना बनाई नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताए। 

नगरउपप्रमुख विष्टले नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरणका लागि चाल्ने कदममा साथ दिन नगरवासीलाई अनुरोध गरिन। वडा नं १ का अध्यक्ष गङ्गाराम आचार्यले परिवर्तनको सुरुआत आफैबाट गर्नुपर्ने बताए। 

वडा नं २ का अध्यक्ष प्रकाश बुढाले वडाले नै आफ्ना जनतालाई सम्झाइबुझाई छाउपडी गोठ भत्काउन लगाउने बताए। नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले छाउपडी प्रथाजस्ता कुप्रथा हटाउन सबै दलहरुले सहयोग गर्नुपर्ने बताए।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टीकापुरका अध्यक्ष खड्क शाहले नगरपालिकाले छाउपडी प्रथाविरुद्ध गर्ने अभियानमा आफ्नो पार्टीले सहयोग गर्ने बताए।

 काँग्रेसका नगर सभापति धनराज उपाध्यायले महिनावारी भएका बेला घरमै बस्न मिल्छ भनेर जनतालाई चेतना जगाउन सक्नुपर्ने बताए। 

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले कानूनले समेत दण्डनीय भनेर मानिसकेको छाउपडी प्रथाको नियन्त्रणमा नगरपालिकाले सबैको साथ चाहेको बताए।

 इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेमराज भट्टले कानूनले दण्डनीय अपराध मानिसकेको छाउपडी प्रथा हटाउन प्रहरीले सबै कानूनी प्रक्रिया अपनाउने बताए।

 महिला अभियन्ता चन्द्रावती शर्माले आफूहरुले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिकाका विभिन्न वडामा छाउपडी गोठ भेट्टाएको बताइन्।

 नगरपालिकाका वडा नं २, ७, ८ र ९ मा अहिले पनि छाउगोठ देख्न सकिन्छ। यहाँ अहिले पनि महिला महिनावारीको समयमा चार दिन गोठमै बस्ने गर्दछन्।

प्रकाशित मिति: : 2020-01-08 02:02:29

प्रतिकृया दिनुहोस्