फोक्सुन्डो ताल किनारमा ‘राब्ने पूजा’ गरी पुननिर्मित गुम्बा उद्घाटन

बोन धर्मावलम्बीको पवित्र गुम्बा थासुङ छोलिङ गुम्बा पुननिर्माण पूरा भएको अवसरमा राब्ने पूजा गरी उद्घाटन गरिएको छ। डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका– ८ रिग्मो गाउँमा रहेको पाल शेन्तेन थासुङ छोलिङ गुम्बा वैशाख २९ गते उद्घाटन गरिएको हो।

१५औँ शताब्दीमा धार्मिक गुरु टेतोन छेवाङ छुल्ठिमले बनाएको गुम्बा जीर्ण भएकाले पुननिर्माण गरिएको हो। गुम्बामा बोन धर्मका संस्थापक बुद्ध तोन्पा सेन्राव मिवोको नयाँ मूर्ति स्थापना गरिएको छ।

गुम्बाको उद्घाटन सेटुप पन्लोव, गेसे लोटो चुफुट्, वडाध्यक्ष निमा लामा, खेम्पो सेम्दुक निमा रिम्पोछे र हार्ट मन्त्र फाउन्डेनसका प्रमुख चेरी भेरीलगायतले संयुक्त रुपमा गरेका हुन्।

कार्यक्रममा गाउँलेको भव्य उपस्थिति थियो। कार्यक्रममा परम्परागत नाचहरूसमेत प्रदर्शन गरिएको थियो।

राब्ने पूजाका संयोजक गेसे लोडोई छोगलेगकाअनुसार सन् २०२१ बाट गुम्बा पुननिर्माण सुरु गरिएको थियो। विभिन्न व्यक्ति, दातृ संस्था, रिग्मो गाउँका जनप्रतिनिधि, स्थानीय, थासुङ छोलिङ गुम्बाको खेन्पो साम्डुप निमा रिन्पोछेलगायत टावा र च्होमोहरूसँगको समन्वय र सहकार्यमा गुम्बा पुननिर्माण सम्भव भएको हो।

गत वैशाख २६ गतेदेखि २९ गतेसम्म धुमधामसँग ‘राब्ने पूजा’ गरी पुननिर्मित गुम्बा उद्घाटन गरिएको हो। नाम्ग्याल याङ्गटुप पूजाविधिद्धारा गुम्बाको राब्ने तथा उद्घाटन गरिएको हो।

‘बोन’ हजारौँ वर्ष पुरानो धर्म हो। संसारका सबै प्राणीलाई सबै खाले दुःखबाट रक्षा गर्ने धर्मलाई ‘युङ्ढुङ् बोन धमर्’ भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ। बोन धर्मका प्रवर्तक तोन्पा शेराव मिवो हुन्। उनले १८ हजार ४० वर्ष अघि यो धर्म सुरु गरेका थिए।

आठौँ बुद्ध तोन्पा शेन्राव मिवोले १८ हजार ४० वर्ष अघि जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ।

समय क्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन ग्रन्थहरूमा उल्लेख छ। तोन्पा शेन्राव आठौँ बुद्ध हुन्। उनी स्याङ्स्युङ् राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मेका थिए।

जनहितका लागि उनले प्रतिपादा गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश सङ्ग्रह गरिएका १४० ओटा पुस्तक छन्, जसलाई काङ्ग्युर भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीनसय शास्त्र रचिएका छन्। तिनलाई कातेन भनिन्छ।

प्रकाशित मिति: : 2024-05-18 09:25:00

प्रतिकृया दिनुहोस्