शासकको बुद्धि नपुगेरै खुम्च्यो नेपाल । पूर्वमेची र पश्चिम महाकालीमा खुम्च्यो नेपाल । अहिले त्यही महाकालीको लिपुलेक र लिम्पियाधुरा पनि लुट्न आए ।
दुई दिनअघि म आफ्नो गाउँमा पुगेको थिएँ । साँझको समय थियो । घर पुग्नुअघि एकजना साथीकोमा पुगेँ । म पुग्दा मित्रका आँगनमा टन्नै मानिस थिए । परम्परागत नाचसहितको भजन घन्किरहेको थियो ।
ए हो हो पहिला आरती १’ भट्ट्याउने गुरु कराए, ‘हाम्रा वीर पुर्खालाई पहिला आरती !’
सोरमा सोर मिलाउँदै साथ दिनेहरु कराए, ‘ए हो हो हाम्रा वीर पुर्खालाई पहिला अरती । ए हो हो १’ खैँचडी बजाएर बुरुक्क नाचे साथ दिनेहरु ।
गुरु पुनः भट्ट्याउन थाले।।।।।‘कुनै दिन हाम्रो नेपाल कस्मीरदेखि व्रह्मपुत्रसम्म थियो । वेदपुराणले हाम्रो महिमा गाउँथे । संसारमा अन्यत्र नभएको जरीबुटी हाम्रो मुलुकमा थियो । ऋषिमुनिहरु हाम्रै हिमालमा बसेर तपस्या गर्थे । अठार पुराण रच्ने व्यास हाम्रै बाजुरामा जन्मेका थिए । रामायण महाकाव्य बनाउने संस्कृत भाषाका आदिकवि वाल्मीकी हाम्रै गैंँडाकोटमा बस्थे । यजुर्वेद संहिता बनाउने ऋषि याज्ञवल्क्य हाम्रै जनकपुरमा बस्नुहुन्थ्यो । अमरकोषकार अमरसिँह शाक्य हाम्रै देशका गौरव हुनुहुन्थ्यो । हाम्रै हिमालको काखमा बसेर ऋषिहरुले वेद बनाए । महादेव शिव र पार्वती काशीबाट मानस सरोवरतिरको यात्रामा रहँदा हाम्रै आदि कैलास लिम्पियाधरुामा विश्राम गर्नुहुन्थ्यो ।