मानवीय गल्तीका कारण युक्रेन विमान खसालेको इरानको स्पष्टीकरण

इरानी राष्ट्रपति हसन रुहानीले गल्ती स्विकार गर्दै भने, ‘आन्तरिक खोजीपछि निस्कर्ष निस्कियो कि मानवीय गल्तीका कारण मिसाइल प्रक्षेपण गर्दा विमान दूर्घटनाग्रस्त भयो।’

एजेन्सी

तेहरान

तेहरानमा दूर्घटनाग्रस्त युक्रेनको विमान गल्तीले खसालेको इरानले स्विकार गरेको छ। इरानले भनेको छ, मानवीय गल्तीका कारण यस्तो घटना हुन गयो। ८ जनवरीमा भएको यो घटनामा १ सय ७६ यात्रुको निधन भएको थियो। अमेरिकाले यसअघि इरानले नै विमानलाई खसालेको दावी गर्दै आइरहेको थियो। तर, इरानले अस्विकार गरेको थियो। 

इरानी राष्ट्रपति हसन रुहानीले गल्ती स्विकार गर्दै भने, ‘आन्तरिक खोजीपछि निस्कर्ष निस्कियो कि मानवीय गल्तीका कारण मिसाइल प्रक्षेपण गर्दा विमान दूर्घटनाग्रस्त भयो।’

यसअघि युक्रेनका विदेश मन्त्रीले विमान दूर्घटनाको विषयमा तत्कालै निस्कर्षमा पुग्नु भनेको हतारिनु हुने बताएका थिए।  युक्रेन अन्तर्राष्ट्रिय विमान बोइङ ७३७ उड्नै लाग्दा तेहरानको इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दूर्घटनाग्रस्त भएको थियो। विमानमा रहेका इरान, युक्रेन, अफगानिस्तान, क्यानडा, जर्मनी, स्विडेन र बेलायती नागरिकको निधन भएको थियो। 

अमेरिकी मिडियाले यसअघि युक्रेनको विमानलाई फाइटर विमान सम्झेर इरानले खसालेको हुन सक्ने आशंका गरेका थिए। इरानले घटनाको छानवीन सम्बन्धमा सक्दो सहयोग गर्ने बताएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-12 00:07:59

प्रतिकृया दिनुहोस्