चीनमा नयाँ भाइरस फेला, एकको निधन

रोगीसँग सिधै सम्पर्कमा भएको भन्दै ४ सय १९ डाक्टरसहित ७ सय ४० जनालाई चिकित्सा निगरानीमा राखिएको छ।

एजेन्सी

बेईजिङ

चीनको बुहान शहरमा कोरोना भाइरसका कारण फैलिएको निमोनियाबाट शनिबार एक जनाको मृत्यु भएको छ। यसको जानकारी शहरको स्वास्थ्य आयोगले दिएको हाे। नयाँ प्रकारको भाइरसको संक्रमणबाट ४१ जना प्रभावित भएका छन्। दुई जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको र ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। अरुको अवस्था भने स्थिर छ। 

रोगीसँग सिधै सम्पर्कमा भएको भन्दै ४ सय १९ डाक्टरसहित ७ सय ४० जनालाई चिकित्सा निगरानीमा राखिएको छ। बुहान शहरका स्थानीय अधिकारीले रहस्यमय ढंगले फैलिएको निमोनियाका कारण शहरको अवस्था त्रासदीपूर्ण भएको बताएका छन्। 

यसै साता चिनियाँ सञ्चार माध्यमले कोरोना भाइरसको विषयमा पहिलो खबर सार्वजनिक गरेका थिए। 

स्वास्थ्य आयोगका अनुसार पछिल्लो तीन दिनयता कुनै किसिमको संक्रमण भएका व्यक्तिकाे विषयमा जानकारी आएकाे छैन। यसैले नयाँ बिरामी नथपिएको बताइएको छ।

सन् २००३ मा एसएआरएस भाइरस देशभरि फैलिँदा ६ सय ४६ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले बताएको थियो। 

बुहानमा फैलिएको रहस्यमय निमोनियाको लक्षण सुख्खा खोकी, बिरामी पर्ने र थकाई लाग्ने रहेको छ। केही बिरामीलाई स्वाँस लिन गाह्रो पर्ने पनि भेटिएको छ। 

अनुसन्धानपछि सीफूड बजारबाट यो भाइरस फैलिएको बताइएको छ। बुहान स्वास्थ्य आयोगले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ। 
 

प्रकाशित मिति: : 2020-01-12 01:50:00

प्रतिकृया दिनुहोस्