तनहुँमा रु ९८ लाखको लागतमा किरियापुत्री भवन निर्माण

रासस

दमौली
बिएल

तनहुँको व्यास नगरपालिका–३ व्यास गुफा परिसरमा रु ९८ लाखको लागतमा आवासीय किरियापुत्री भवन निर्माण सम्पन्न भएको छ।

व्यास नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको चन्दा सङ्कलनबाट रु ९८ लाख ३२ हजार ७११ को लागतमा किरियापुत्री भवन निर्माणसम्पन्न भएको हो।

 किरियापुत्री भवन निर्माणका लागि व्यास नगरपालिकाले रु ३६ लाख ७६ हजार ७९७, व्यास नगरपालिका–३ वडा कार्यालयले रु दुई लाख ६० हजार सहयोग गरेको थियो भने रसिद प्याडबाट रु ४५ लाख ३९ हजार ४७३ सङ्कलन भएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए।

भवन निर्माणका लागि नेपालका विभिन्न ठाउँका साथै विदेशबाट समेत रकम सङ्कलन भएको थियो। निर्माण समितिले उक्त भवन व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ।

भवनको साँचो समितिका अध्यक्ष लम्सालले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेका हुन। उक्त भवनको सञ्चालन व्यास नगरपालिका–३ ले गर्ने समितिका अध्यक्ष लम्सालले जानकारी दिए।

 भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उपभोक्ता समितिले समयमा नै भवन निर्माण सम्पन्न गरेर उदाहरणीय काम गरेको बताए।

दमौलीमा किरियापुत्री भवनको अभाव लामो समयदेखि खड्किएको हुनाले भवन निर्माण सम्पन्न भएपछि किरिया बस्नेहरुलाई सहज हुने वाग्लेले बताए।

 व्यास नगरपालिकाका प्रमुख न्यौपानेले अनुमान गरिएभन्दा बढी सहयोग रकम उठाएर किरियापुत्री भवन निर्माण सम्पन्न गरेकामा समितिलाई धन्यवाद ज्ञापन गरे।

लम्सालले भने, “रकम सङ्कलनका लागि कसैलाई पनि दबाब दिनु परेन, फोन गर्नु परेन। स्वतःस्फूर्त रुपमा नै चन्दादाताले रकम दिए ।” दुई हजार नौ सय वर्गफिट क्षेत्रफलमा फैलिएको भवनमा कुरुवाहरु बस्ने कक्षबाहेक आठ कोठा रहेको छ। 

यसैबीच भवन निर्माणका क्रममा रु एक लाखभन्दा बढी दान दिने दाताहरुलाई सम्मान गरिएको छ। भवन निर्माणका लागि रु पाँच लाख नगद र रु दुई लाख ५० हजार मूल्य बराबरको जग्गा प्रदान गर्ने बन्दीपुर भीमसेन गुठी, रु पाँच लाख दुई हजार सहयोग गर्ने बन्दीपुर गाउँपालिका–१ डुम्रेका धु्रवकुमार प्रधान, रु तीन लाख ५१ हजार सहयोग गर्ने तनहुँ घर भई काठमाडौँ बस्दै आएका पदमचन्द्र पौडेल, रामचन्द्र पौडेल र दिलीपचन्द्र पौडेल, रु एक लाख एक प्रदान गर्ने व्यास नगरपालिका–३ सफा सडक निवासी राजकुमार श्रेष्ठ, रु एक लाख १५ प्रदान गर्ने व्यास नगरपालिका–३ सफा सडक निवासी मीनराज श्रेष्ठ र रु एक लाख प्रदान गर्ने माछापुच्छे बैंकलाई समितिले सम्मान गरेको छ।

प्रकाशित मिति: : 2020-01-12 02:48:30

प्रतिकृया दिनुहोस्