अग्युरोको कीर्तिमान ह्याट्रिकमा म्यान्चेष्टर सिटीको प्रभावशाली जित

एजेन्सी

काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ६-१ गोलको फराकिलो अन्तरले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।

एस्टनको घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे। यस्तै रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरेका थिए। एस्टनका अनवर एल घाजीले एक गोल फर्काएका थिए।

खेलको १८औं मिनेटमा रियाद मेहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले अग्यूरोको पासमा गोल गरेका थिए ।

त्यसको ६ मिनेटपछि मेहरेजले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। २८औं मिनेटमा अग्यूरोले केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए।

पहिलो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दा सिटीले ४–० को अग्रता लियो ।

अग्यूरोले ५७ औं र ८१औं मिनेटमा गोल गर्दै प्रिमियर लिगमा १२औं ह्याट्रिक पूरा गरे ।

ह्याट्रिकसँगै अग्यूरो प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडीसमेत बनेका छन् । उनले थिएरी हेनरीको १७५ गोलको कीर्तिमान तोडेका छन्।

खेलको इन्ज्यूरी समयमा एस्टन भिल्लाका अनवर एल घाजीले पेनाल्टीमार्फत सान्त्वना गोल गरे ।

जितसँगै सिटीले प्रिमियर लिगमा ४७ अंक बनाएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । भिल्ला भने २१ अंक सहित १८औं स्थानमा छ।

प्रिमियर लिगमा अग्यूरोको यो करियरको १२ औं ह्याट्रिक हो । यससँगै अग्युरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको कीर्तिमान समेत तोडेका छन्। यसअघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए।

प्रकाशित मिति: : 2020-01-13 21:28:32

प्रतिकृया दिनुहोस्