प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन्। अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहेको उनले बताए।
तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको शनिबार भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको बताए।
अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको महानिरीक्षक खनालको भनाइ थियो। विकास निर्माणका लागि सुरक्षा स्थिति सुदृढ बनाउने बताउँदै महानिरीक्षक खनालले भने, “विकास निर्माण र शान्ति सुरक्षा एक अर्काका पुरक हुन्, विकास निर्माणमा अवरोध हुन दिन्नौं।”
महानिरीक्षक खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताए। प्रहरी कार्यालयलाई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाउन नयाँ प्रहरी कार्यालय भवन निर्माणलाई समेत अगाडि बढाइएको उनको भनाइ छ।