सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता

आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ।

बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ। सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा असोज १४ गते पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि चुनाव हुन लागेको हो।

सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन।

कांग्रेसले उपसभामुख पद आफूले पाउने भए सभामुखमा उम्मेदवारी नदिने तर उपसभामुख नपाउने भए सभामुखमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले बताएको छ।

आउँदो आइतबार दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ। 

प्रकाशित मिति: : 2020-01-21 21:18:14

प्रतिकृया दिनुहोस्