६० प्रतिशतले घट्दैछ लघुवित्त संख्या !

सांकेतिक तस्बिर

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरू धमाधम मर्जरमा जान थालेका छन् । राष्ट्र बैंकले मर्जरमा जान दिएका केही सुविधा र मर्जर नभए बाध्यकारी हुने नीति आउने डरले लघुवित्त वित्तीय संस्थाहरू धमाधम मर्जरमा जान थालेका हुन् । लघुवित्त वित्तीय संस्थाहरूको संख्या ६० प्रतिशतले घटाउने योजना बनाएको राष्ट्र बैंक स्रोतले बताएको छ । हाल १ सय हाराहारीमा रहेका लघुवित्त वित्तीय संस्थाहरूको संख्या अत्याधिक भएको भन्दै चर्को आलोचना भएपछि राष्ट्र बैंकले यो संख्या ६० प्रतिशत घटाउने लक्ष्य राखेको हो ।

मर्जरका लागि अहिले लघुवित्त वित्तीय संस्थाहरू आफैं तातेका छन् । र पनि, चाहेअनुसार संख्या घटेन भने ‘फोर्स मर्जर’ नीति ल्याउने राष्ट्र बैंकको योजना छ । केही वर्ष पहिले पुँजी वृद्धिको अस्त्र प्रहार गरेर क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था संख्या घटाउन राष्ट्र बैंक सफल भएको थियो । राष्ट्र बैंकले चार गुणाभन्दा धेरै पुँजी बढाउन निर्देशन दिएपछि ३२ वटा ‘क’ वर्गका वाणिज्य बैंक संख्या २७ मा झरेको थियो । विकास बैंक र फाइनान्स कम्पनीहरूमा पनि त्यो नीतिको ठूलो प्रभाव परेको थियो । परिणामतः विकास बैंक संख्या ८८ बाट २५ र फाइनान्स कम्पनी संख्या ७९ बाट २३ मा झरेको थियो । अझै घट्ने क्रममा छन् ।

प्रकाशित मिति: : 2020-01-22 00:06:03

प्रतिकृया दिनुहोस्