प्रदेश १ बाट नेपाल प्रहरीका दुई असई (प्रहरी सहायक निरीक्षक) सर्वोत्कृष्ट घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत दुर्गा पोमु लिम्बू र प्रदेश प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूह (रिट) मा कार्यरत किरण मोक्तानलाई सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको छ। दुवै जनालाई पुस महिनाको पुलिस अफ दी मन्थ उपाधिबाट सम्मानित पनि गरिएको छ।
अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएर सर्वसाधारण नागरिकलाई सुरक्षा अनुभूति दिलाउन महत्वपूर्ण भूमिका खेलेका कारण असई द्धवयलाई पुरस्कृत गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए। उनका अनुुसार प्रहरीको छवि उच्च बनाउनुका साथै सर्वसाधारणलाई सुरक्षाको अनुभूति अभिवृद्धि गर्नलाई दुवै जनाले गरेको प्रशंसनिय कार्यको उच्च मूल्याँकन गरिएको हो।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्य गर्ने प्रहरी मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट घोषित गरेर पुरस्कृत गर्दै आएको छ। सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको ‘फ्लेक्स प्रिण्ट’ प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश अन्तर्गत रहेका ‘क’ स्तरसम्मका इलाका प्रहरी कार्यालयमा एक महिनासम्म राखिँदै आएको छ।