बलिउड नायिका नितुले खोलिन रहस्य– आफ्नै बिहेमा ऋषि कपुर र म बेहोश भएका थियौं

दुबैले पाँच वर्ष डेट गरेपछि १९८० मा विवाह गरेका थिए। ऋषिसँग डेटिङ गर्दा नितुको उमेर १४ वर्ष मात्र थियो।

एजेन्सी

मुम्बई

ऋषि कपुर र नितु सिंहकाे जोडीलाई बलिउडको लोकप्रिय जोडीको रुपमा नचिन्ने सायदै होलान। यो जोडीले विवाहको ४० ‌‌ओैं वर्षगांढ हालै मनाएकाे छ। उनीहरू अहिले पनि पार्टी र फिल्मी कार्यक्रममा सँगै देखा पर्छन। 

उनीहरूको प्रेम–प्रसंग जति रोचक छ, त्यति नै रोचक छ, विवाहको घटना पनि। कपुर खानदानका स्टार कलाकार ऋषि कपुरले त्यति बेला नितुसँग विवाह गर्ने घोषणा गरेपछि लाखौं युवतीको मुटुमा ठेस लागेको थियो। उनी युवतीमाझ निकै लोकप्रिय थिए। 

दुवैले पाँच वर्ष डेट गरेपछि १९८० मा विवाह गरेका थिए। ऋषिसँग डेटिङ गर्दा नितुको उमेर १४ वर्ष मात्र थियो। नितु भर्खरै फिल्म उद्योगमा प्रवेश गरेकी थिइन। यति बेला ऋषि कपुर नितुलाई जिस्क्याएर बस्थे। पहिले त नितुलाई ऋषिसँग रिस उठ्थ्याे। विस्तारै उनीहरूबीच सम्बन्ध झाङ्गियाे। 

ऋषिको प्रेमको विषयमा कपुर परिवार पहिलेदेखि नै जानकार थियो। हिन्दी फिल्मका हस्ती राज कपुरले नै ऋषिलाई ‘यदि त नितुसँग प्रेम गर्छस् भने विवाह गर’ भनेर दबाब दिएका थिए। यसपछि उनीहरूको विवाह तय भएको थियो।

ऋषि र नितुले एक अन्तर्वार्तामा विवाहको बेला आफू दुबै बेहोश भएको रोचक घटना बताएका छन्। नितुले भनिन्, ‘हामी विवाहको बेला बेहोश भयौं।’ उनले बेहोश हुने कारण स्पष्ट पार्दे भनिन्, ‘म लहंगा मिलाउँदा मिलाउँदै बेहोश भए। ऋषि भने अत्याधिक भीडलाई सम्हाल्न नसक्दा बेहोश भए।’ 

उनले बेहोशीपछि उठेर विवाह भएको बताइन्। राज कपुरले आफ्नो छोरा ऋषिलाई लञ्च गर्न ‘बाबी’ फिल्म बनाएका थिए। जसमा नितु मुख्य भूमिका निर्वाह गर्न चाहन्थिन्। तर, बाजी डिम्पल कापडियाले मारिन्। 

यति बेला राज कपुरसँग हिरोइनका लागि दुई वटा अनुहार थियो। नितुले पहिले नै फिल्म खेलिसकेकी थिइन। त्यसैले राज कपुरले डिम्पललाई हस्ताक्षर गरे। यसपछि नितु र ऋषिको थुप्रै फिल्म सार्वजनिक भयो। ‘रफु चक्कर’, ‘दूसरा आदमी’, ‘कभी–कभी’, ‘अमर अकबर एन्थाेनी’ मा उनीहरूले सँगै फिल्म खेलेका थिए। बिहेपछि नितुले फिल्ममा काम गर्न बन्द गरेकी हुन्। नितु पछिल्लो समय ‘बेशरम’ मा देखा परेकी थिइन। फिल्म २०१३ मा रिलिज भएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-24 04:43:49

प्रतिकृया दिनुहोस्