राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक एवं सांसद महेन्द्रराय यादवले आफूहरुको माग र मुद्दा सम्बोधन भएमात्र सरकारलाई समर्थन गर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा मंगलवार सम्बोधन गर्दै उनले रेशम चौधरीलाई हिरासत मुक्त र संविधान संशोधन गरे आफूहरु सरकारलाई समर्थन गर्न तयार रहेको बताएका हुन्।
‘एक वर्षसम्म सरकारलाई समर्थन दियौं तर रेशम चौधरीको रिहा तथा संविधान संशोधन सरकारले गरेन।’ उनले भने ‘माग सम्बोधन नै नगर्ने भए किन समर्थन गर्ने भनेर हामीले समर्थन फिर्ता लिएका हौं।’
उनले सरकारले अहिले पनि माग पुरा गर्यो भने समर्थन गर्न तयार रहेको धारणा राखे। ‘हामीले सरकारलाई सबै अप्ठ्यारोमा सहयोग गर्न तयार छौ तर त्यसअघि हाम्रो मागहरु पुरा हुनुपर्छ।’उनले भने।
समाजवादी पार्टीले दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी भएको तर १८ महिना बित्दा समेत सरकारले कुनै वास्ता नगरेको उनले गुनासो गरे।
उनले एउटा पार्टीलाई सरकारबाट बाहिर गर्ने र अर्कोलाई सरकारमा लिने काम सरकारले गर्न नहुने बताउँदै आफूहरुले उपसभामुखका विषयमा नेकपासँग कुनै कुरा नभएको तर बाहिर बाहिर धेरै कुरा आएको टिप्पणी गरे। नेकपाले आफैंले उपसभामुख दिन चाह्यो भने त्यसको बारेमा पार्टीमा छलफल गर्ने धारणा समेत उनल राखे।