नार्कका अधिकारीहरु भन्छन्– कृषि वैज्ञानिकले सही ढंगले काम गर्न सकेनन्

कृषि अनुसन्धान परिषद (नार्क)ले कृषि सम्बन्धी अनुसन्धानमा खटिएका वैज्ञानिकले सही ढङ्गले काम नगर्दा किसानले लाभ उठाउन नसकेको स्वीकार गरेका छन्। वैज्ञानिकहरु फिल्डमा नगई मजदुरको भरमा अनुसन्धान गर्ने गरेकाले समस्या उस्तै रहेको उनीहरुले स्वीकार गरेका हुन्।

नार्कको आयोजनामा बाराको परवानीपुरमा शुरु भएको ३ दिने योजना तर्जुमा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै आर्थिक प्रशासन महाशाखा प्रमुख राजेन्द्र पण्डितले बर्षेनी बजेट समयमै खर्च गर्न नसकेर फिर्ता गईरहेको दुःखद अवस्था रहेको बताए। 

उनले योजना बिनाको बजेट प्रस्ताव नगर्न सुझाव दिँदै आएको बजेट कसरी सहि ढङ्गले कार्वन्यन गर्ने भन्ने तर्फ ध्यान दिन सुझाव दिए।  ‘ कागजपत्र दुरुस्त नराखे तथा काम सहि ढङ्गले नगरे  अख्तियार लगायत अन्य निकायको निसानामा पर्न सकिने खतरा हुन्छ जसकारण सतर्क हुन आवश्यक छ।’ उनले भने

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा तारा बहादुर घिमिरेले कुनैपनि योजनामा अनावश्यक बजेट विनियोजन नगर्न सुझाए। उनले अहिले तीन तहको सरकार आइसकेकाले कृषि अनुसन्धान केन्द्रले स्थानीय सरकारको सहकार्यमा किसानलाई सहज हुने खालको कार्यक्रम गर्न सुझाव दिए। साथै उनले गत वर्ष किसानले चाहे जस्तो लाभ उठाउन नसकेकाले यस वर्ष आफुहरुले प्रभावकारी र कडा रुपले अनुगमन गर्ने भन्दै कृषि वैज्ञानीकहरुलाई खबरदारी गरे। 

‘अधिकासं वैज्ञानीकहरु फिल्डमा नजाने र घरमै बसेर काम गर्ने भएकाले अहिले बिउमा धेरै समस्या आईरहेको छ।’ उनले भने ‘अहिलेको आधुनीक समयमा प्रविधिको सहयोग लिएर काम गर्दा प्रभावकारी हुन्छ।’

यता बालि तथा बागबानी अनुसन्धानका निर्देशक हरी कृष्ण उप्रेतिले वैज्ञानीकहरुलाई आफ्नो पेशाप्रति ध्यान दिन जोड दिए साथै कार्यालय प्रमुखहरुलाई वैज्ञानीकहरुले गरीरहेको काम प्रति हप्तामा एक पटक भएपनि फिल्डमा निरीक्षण गर्न सुझाव दिए। 

स्थानीय सरकारको तर्फबाट कार्यक्रममा सहभागी परवानीपुर गांउपालिका अध्यक्ष हरिनारायण साहले अनुसन्धानबाट आएका नजितालाई स्थानीय सरकारको सहकार्यमा किसानसम्म पु¥याउन आग्रह गरे। उनले भने ‘बारा जिल्लामा मात्र १६ वटा पालीका छन्। यी सबै पालीकासँग सहकार्य गरे कृषि क्षेत्रमा एउटा पालिकाले ५० लाख बजेट सजिलै छुट्याउन सक्छ। त्यसको सदुपयोग प्रभावकारी ढंगले गर्न सके करोडौको बजेटमा प्रभावकारी कामको सुरुवात गर्न सकिन्छ।’

कृषि क्षेत्रमा भएका वैज्ञानिक अनुसन्धान कार्यालयको घेरामा सिमिति रहेको भन्दै गाउँपालिका प्रमुखले यसलाई घेरा मुक्त गरी किसानसम्म पु¥याउन सुझाव दिए। उनले समन्वय र सहकार्य महत्वपूर्ण हुने भएकाले गाउँपालिकामा आफुले बिउ वृद्धि केन्द्र र कृषि पाठशाला खोल्ने सोच बनाएकोले अनुसन्धान केन्द्रबाट प्राविधिक सहयोग पाउने आशा व्यक्त गरे। 

जितपुरसिमरा उपमहानगरपालिका २३ का अध्यक्ष असलम देवानले वैज्ञानिक कागजमा नभई व्यवहारमा लागु गर्न र न्युनतम स्रोत साधनको प्रयोग गरी अनुसन्धान गरी किसानहरुलाई उपलब्धि मुलक सेवा दिनुपर्नेमा जोड दिए। अध्यक्ष देवानले वैज्ञानिक र अनुसन्धानकर्ताको ध्यान बढी तलब भत्तामा गएको आरोप लगाए। उनले एक दिनको कामका लागि ४ दिन लगाएर राज्यले दिएको सुविधाको दुरुपयोग नगरिदिन आग्रह गरे। 

परवानीपुरका क्षेत्रिय निर्देशक केशव श्रेष्ठको सभापतित्वमा भएको उद्दघाटन कार्यक्रममा क्षेत्रिय कृषि अनुसन्धान केन्द्र परवानीपु्र, बारा, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जितपुर बारा, तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर सर्लाही, कृषि औजार अनुसन्धान केन्द्र, रानीघाट वीरगञ्ज, कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र नवलपुर सर्लाही, कृषि अनुसन्धान केन्द्र, बेलापाची धनुषाको योजना तर्जुमा गरिने कृषि अनुसन्धान परिषदले जनाएको छ।

गोष्ठीमा बाली विज्ञान, बीउ, बायोटेक्नोलोजी र माटो विज्ञान, बागबानी अनुसन्धान, पशु विज्ञान, बाली संरक्षणका बारेमा समेत छलफल हुने क्षेत्रिय निर्देशक श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-02-01 10:46:39

प्रतिकृया दिनुहोस्