बृहत् टुँडिखेलको गुरुयोजना बनाउँदै सरकार

टेनिस रोका

काठमाडौँ

 काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ ।  सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी, टुँडिखेल, रंगशालालगायत क्षेत्रलाई समेटेर बृहत् गुरुयोजनाको कार्य अघि सारेको हो । प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले रानीपोखरी, रत्नपार्क, खुल्लामञ्च, टुँडिखेल, शहीदगेट, दशरथ रंगशाला, भृकुटी मण्डपलगायत भागलाई समावेश गरी बृहत् गुरुयोजना बनाइरहेको जानकारी दिए । ‘यसबारेमा सम्बन्धित पक्षसँग परामर्श जारी छ, सबै पक्षबीच सहमति जुटेपछि यसलाई अन्तिम रूप दिनेछौं’, उनले भने ।

प्राधिकरणले बृहत् गुरुयोजनाअन्तर्गत हनुमान ढोका दरबार क्षेत्रसमेतलाई समेट्ने योजना बनाएको छ । पहिलो चरणको कामका लागि साढे दुई अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने प्राधिकरणको अनुमान छ भने अन्य चरणको अध्ययन काम भइरहेको जनाएको छ । पहिलो चरणअन्तर्गतको रकम हनुमानढोका दरबार क्षेत्र, रानीपोखरी र काठमाडौंको ‘कोर–सिटी’ पुनर्निर्माणमा खर्च गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्रकाशित मिति: : 2020-02-02 00:09:29

प्रतिकृया दिनुहोस्