हिपहप संगीतमा आफ्नो पहिचान बनाउँदै नेपाली मूलका कर्टिस वाटर्स

बिएल संवाददाता

नर्थ क्यारोलाइना

पछिल्लो समय पाश्चात्य गीत संगीतमा नेपाली मूलका युवा पुस्ताको आकर्षण बढ्न थालेको छ। उत्तर अमेरिकाको हिपहप संगीतमा आफ्नो पहिचानका लागि संघर्षरत अमेरिकाको नर्थ क्यारोलाइना निवासी नेपाली मूलका कर्टिस वाटर्सको सांगीतिक भिडियो ‘फ्रेकल्स’ हालै लिरिकललेमोने डडटकमले सार्वजनिक गरेको छ। 

कर्टिसको शव्द ,संगीत र स्वरमा रहेको उक्त गीतको भिडियोको निर्देशन रायन टेम्केले गरेका हुन्। यो गीतमा कर्टिस को भावना, इमान्दारीता र निर्दोषिता झल्किन्छ। 

योसँगै उनले प्रयोगात्मक संगीतमा नयाँ छलाङ मारेका छन्। उनले नयाँ एल्बममा र्‍याप, रक, रिदम एण्ड ब्लुज, पप र प्रविधिको संयोजन गर्दै युवायुवतीबीचको प्रेम, यौनिकता, किशोर र युवा मनस्थिति तथा अस्तित्व खोजीसँग जोडिएका भावनाहरू अभिव्यक्त गर्ने प्रयास गरेका छन्।

कर्टिसको पहिलो एल्बम अनुपम र मन लोभ्याउने भन्दै न्युयोर्कस्थित मिडिया प्ल्याटफर्म कम्प्लेक्सले प्रशंसा गरेको छ। स्पार्की म्यागजिनको आर्टिस्ट फिचरमा केविन जिनले लेखेकाछन्, यो गीतले स्रोतालाई पार्टीमा होस् कि अन्य जमघटमा होस् खुसीले नचाउँछ, स्वर र संगीतको अनुपम संयोजनले गीतलाई विशेष बनाएको छ, यसले स्रोताको मन जित्ने छ।’ केविनले अन्य समकालीन पाश्चात्य संगीतका हस्तिहरूसँग तुलना गर्दै कर्टिसले आफ्ना भोगाइ र मानवीय समवेदनालाई राम्रो संयोजन गरेका छन्।

‘यो एल्बम अनुपम छ र शब्द सबैभन्दा आकर्षक छन्। सन् असीको दशकको ड्रम ब्रेकडाउनलाई र्‍यापमा अरुले विरलै समावेश गरेको पाइन्छ’, वाटर्सको पहिलो एल्बमको तारिफ गर्दै कम्प्लेक्सका जोसेफाइन क्रुजले भने।

‘यो गीतको प्रशंसा गर्दै म के भन्न चाहन्छु भने गितारको मधुर धुन रहेको गीतलाई मन पराउनु बाहेक अर्को विकल्प नै छैन’, लिरिकल लेमोनेडका सिमस फेले भनेका थिए, ‘वाटर्स परफेक्ट नहुन सक्छन्, र हामी कोही पनि पूर्ण छैनौं तर मधुर धुन र गीतको खुला भावले हामी सबैको मन शान्त बनाउँछ।’

यो गीतको सांगीतिक भिडियो सार्वजनिक गर्दै कर्टिसले आफ्नो दोस्रो एल्बम ‘पिटी पार्टी’ केही समयमा नै बजारमा ल्याउने घोषणा गरेका छन्। कर्टिसका अनुसार उनको नयाँ एल्बम भ्यालेन्टाइन डे अर्थात् फेब्रअरी १४ देखि बजारमा औपचारिक रुपमा आउने छ। एल्बममा १० वटा गीत छन्। जसलाई कर्टिसको आफ्नै रचना, संगीत र स्वर रहेको छ। एल्बममा यसअघि रिलिज भएका एकल गीत ‘टक्सिक’ र ‘द फिलिङ्स टेन्ड टु स्टे द सेम’ समेत समावेश गरिएको छ।

नेपालमा जन्मेर क्यानाडाको क्यालगरीमा हुर्केका संगीतकार कर्टिसले सन् २०१८ मा आफ्नो पहिलो एल्बम ‘प्रोम नाइट’ बजारमा ल्याएर दर्शकरस्रोतामाझ पहिलो छाप छोड्न सफल भएका थिए। कर्टिसको हाइ स्कुलको अनुभवमा आधारित प्रोम नाइटले स्रोताको मन जित्नुका साथै कम्प्लेक्स, साइडवाक, हसल र इअरमिल्क जस्ता सांगीतिक प्रकाशनहरूको तारिफ र प्रशंसा बटुल्न सफल भएको थियो। 

सन् २०१९ मा समेत वाटर्सले आफ्नो सांगीतिक यात्रालाई थप निरन्तरता दिए। सोही वर्ष रिलिज भएको उनको एकल गीत ‘द फिलिङस् टेन्ड टु स्टे द सेम’लाई क्रिटिक तथा फ्यानले निकै मन पराएका थिए।

अमेरिका र क्यानाडाका विभिन्न कलाकारहरूले कर्टिससँग सहकार्यमा विभिन्न गीतहरू गरेका छन् भने उनले बेलाबेलामा एकल सांगीतिक प्रस्तुति समेत दिएका छन्।

सन् २०१७ मा क्यानाडाको टोरन्टोमा भएको अन्तर्राष्ट्रिय बिट व्याटल प्रतियोगितामा थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट आठमा पर्न सफल भएका थिए। उनी पाश्चात्य संगीतमा लाग्न चाहने किशोर र युवा पुस्ताका लागि प्रेरणको सोत बनेका छन्। उनका सिर्जनाहरू स्पोटीफाई, साउन्डक्लाउड, युट्युब आदि प्ल्याटफर्महरूमा हेर्न र सुन्न सकिन्छ।
 

प्रकाशित मिति: : 2020-02-02 08:06:00

प्रतिकृया दिनुहोस्