ललिता निवास प्रकरण: माधवलाई जोगाउँदा बाबुरामलाई फाइदा

नेपालमा सर्वसत्तावाद ढोकाबाट हैन, झ्यालबाट आएको एउटा नजीर मिलेको छ। ललिता निबास जग्गा प्रकरणमा सत्तारूढ पार्टीको चौथो वरियताका नेता माधवकुमार नेपाललाई बचाउन गरिएको काइते निर्णयले त्यसको दृष्टान्त मिलेको हो ।

ललिता निवास जग्गा प्रकरणको ब्रम्हलुट मच्चाउने निर्णयका अन्तिम हस्ताक्षरकर्तामध्ये एक तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल पनि थिए । तर, उनलाई अख्तियारले छुनु हुदैन थियो। त्यसैले यो सामान्य निर्णयलाई पनि नीतिगत निर्णय भनेर उनलाई बचाइयो ।

प्रधानमन्त्रीको कोट अनकोटमा नेपाललाई बचाउन खोज्दा अर्का हस्ताक्षरकर्ता तत्कालिन प्रधामन्त्री डा. बाबुराम भट्टराईलाई चिट्ठा पर्यो । उनी पनि यो मुद्दामा कोट अनकोटमा प्रधामन्त्री भएकै कारण बचे। 

हुन त यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा भनेर सत्तारूढ नेकपा पानीमाथिको ओभानो हुन सक्छ। देखाउने कुरा पनि त्यही नै हो। तर, चपाउने कुरा के हो भने अख्तियारमा सबै पार्टीको भागबण्डाबाट नियुक्त र सरूवा हुन्छन् ।जब यसरी भागबण्डाबाट या कसैको अनुकम्पाबाट त्यहाँ कोही पुग्छ भने ऊ आफूलाई नियुक्त गर्नेप्रति वफादार नहोला भन्ने आधार नै बाँकि रहदैन।

अख्तियारले १७५ जनामाथि मुद्दा चलाएको छ। यो मुद्दामा परेका ठूला माछा भनेका विजयकुमार गच्छेदार नै हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता गच्छेदार निलम्बित हुनु भनेको चानचुने कुरा हैन। प्रधानमन्त्री भएको भए उनी कोट अनकोटमा जोगिने थिए तर उनी उपप्रधानमन्त्री मात्र भएकाले उनी ढिलो तर दुरूस्तै फसे। यो मुद्दामा पूर्व दुई मन्त्री र केही सचिवहरू पनि तानिएका छन्। तर, तिनीहरूको अहिलेको हैसियत भनेको भुरे माछा नै हो।

यो मुद्दामा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल पनि निलम्बित हुनुपर्ने कारण घाम जतिकै सत्य छ। तर,उनलाई जग्गा छोरा नवीन पौडलको नाममा भएको र त्यो पनि फिर्ता गर्ने शर्तमा काइते निर्णय गराएर पानीमाथिको ओभानो बनाइयो।

यो मुद्दामा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल पनि निलम्बित हुनुपर्ने कारण घाम जतिकै सत्य छ। तर,उनलाई जग्गा छोरा नवीन पौडलको नाममा भएको र त्यो पनि फिर्ता गर्ने शर्तमा काइते निर्णय गराएर पानीमाथिको ओभानो बनाइयो। यसले एउटा गलत नजीर बसायो त्यो के भने अब जति घुस खाएपनि भयो, मुद्दा नचलेसम्म पचायो, मुद्दा चल्ने जस्तो भयो भने फिर्ता गर्यो। यस्तो नजीर पनि यही सरकारका पालामा बन्यो।

प्रधानमन्त्री ओलीले ' म भाग्यमानी रहेछ, धन्न घडेरी खोज्दा बालुवाटारमा परिनछु' भन्ने खालको हल्काफुल्का टिप्पणी गरेर विषयान्तर गरे पनि यो निर्णय उनको जानकारीमा नआई अझ उनले नचाहेर भयो भनेर कोही पनि पत्याउनेवाला छैन। 

कांग्रेस भन्थ्यो, नेपालमा नेकपाले जित्यो भने सर्वसत्तावाद आउँछ। उसले भनेको एक हदसम्म ठीकै देखियो, ढोकाबाट हैन नेपालमा झ्यालबाट सर्वसत्तावाद आउँदैछ। झण्डै दुईतिहाईको नेकपा सरकारले नीतिगत रूपमा यस्ता अजब गजवका कार्य गरेर त्यसको छनक दिएको छ। 

 

 

 

प्रकाशित मिति: : 2020-02-06 17:51:04

प्रतिकृया दिनुहोस्