जन्मदिनमा श्वेताले क्यान्सर पीडित दिनालाई दिइन् ५० हजार

बिएल संवाददाता

काठमाडाै‌ं

नायिका श्वेता खड्काले क्यान्सर पीडितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छिन्। ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ क्यान्सरबाट पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातलमै पुगेर खड्काले ५० हजार सहयोग गरेर जन्मदिन मनाएकी हुन्।

अस्पातलको ६०४ नं क्याबिनमा उपचार गराइरहेकी दिनासँग करिब १ घण्टा बिताएकी खड्काले भनिन् ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ। ‘ 

आफ्नो उपस्थितिले दिनाको ओठमा मुस्कान देखिनु नै आफ्नो जन्मदिनको सबै भन्दा ठूलो गिफ्ट भएको बताइन्।

क्यान्सरकै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु परेको दुखद क्षणलाई सम्झदै नायिका खड्काले भनिन् , ‘क्यान्सरले मेरो खुशी खोसेको छ, त्यसैले यो रोगलाई म मेरो शत्रुको रुपमा लिन्छु।’ उनले थपिन् , ‘यो रोगले मेरो जीवनसाथीलाई समेत मृत्‍युको काखमा पुर्‍याएको छ।’ 

क्यान्सर रोगका कारण आफ्नो जीवनमा अपुरणीय क्षती भएको बताउँदै श्वेताले आफू क्यान्सर अस्पताल निर्माणको कार्यमा जुटेको समेत जानकारी दिइन्।

उनले जावलाखेलमा रहेको नेशनल क्यान्सर अस्पताललाई बिस्तार गर्न लागेको जानकारी पनि दिइन्।  ‘आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकेकाहरुको लागि मेरो अस्पतालले सेवा दिनेछ।’ उनले भनिन्।

आफूलाई सहयोग गर्न आफ्नै सामु आइपुगेकी श्वेतालाई देख्दा भगवाननै आएको झै महसुस भएको बताइन्। 
 

प्रकाशित मिति: : 2020-02-07 02:26:27

प्रतिकृया दिनुहोस्