सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उच्च अधिकारीहरु सहभागी थिए।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन्। उनीहरुले आफ्नो उद्दार नगरेकोमा सरकारको आलोचना गरिरहेका छन्। तर सरकारले भने स्वदेश फर्काएपछि राख्ने ठाउँ तयार नभइसकेको भन्दै ढिलाइ गर्दै आएको थियो।

यसैबीच नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
 

प्रकाशित मिति: : 2020-02-07 03:14:29

प्रतिकृया दिनुहोस्