विश्वकप क्रिकेट लिग–२: ओमानले अमेरिकालाई ६ विकेटले हरायाे

बिएल संवाददाता

काठमाडाै‌ं

ओमानले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ।

बिहिबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो।

अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो।

ओमानको जितमा मोहमद नदीमले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले।

यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ओमानलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको थियो।

अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको हो।

अमेरिकाका लागि इयन होल्याण्डले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ७८ बलमा ६ चौका प्रहार गरेका थिए।  यस्तै ५३ बलमा ३ चौका र २ छक्कासहित अक्षय होमराजले ४४ रनको योगदान दिए। 

यता मोनक पटेल १९ र तिमिल पटेल १६ रनमा आउट भए।

ओमानका मोहमद नदीमले ३ विकेट लिए। कप्तान जिशान मकसुद, बिलाल खान र अकीब इलियास २–२ विकेट लिए। कलीमुल्लाहको नाममा १ विकेट रह्यो।

यससँगै ओमानले सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको थियो।

प्रकाशित मिति: : 2020-02-07 05:48:57

प्रतिकृया दिनुहोस्