अख्तियार सरकारको प्रभाव पर्‍याे: कांग्रेस

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सरकारको प्रभाव परेको आरोप लगाएका छन्।

अख्तियारले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरूद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै भ्रष्टाचार मुद्दा हालेको छ।

सो मुद्दामा असन्तुष्टि जनाइरहेको  प्रवक्ता शर्माले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन्। उनले गच्छदार जुन मन्त्रिमण्डलका सदस्य थिए ती मन्त्रिमण्डल हाँक्ने प्रधानमन्त्रीमाथि किन मुद्दा नलागाइएकोले आयोग सरकारको प्रभाव परेको आरोप लगाएका हुन्।

‘विजय गच्छदारमाथि मुद्दा लगाइयो भनेर होइन तर आफ्नालाई छानीछानी किन जोगाइयो भन्ने हो। सरकारको दुष्प्रभावमा परेर यो मुद्दामा आफ्नालाई बचाउने र अर्कालाई फसाउने नियत प्रष्ठ रुपमा देखिन्छ। यदि आयोग प्रभावमा नपरेको भए ती मन्त्रिमण्डल हाँक्ने प्रधानमन्त्रीमाथि किन मुद्दा लगाइएन?’ उनले प्रश्न गरे। 

उनले गच्छदार मन्त्री हुँदा एक पटक माधवकुमार नेपाल र अर्कोपटक बाबुराम भट्टराई प्रधानमन्त्री रहेको स्मरण गराए। ‘नेपालको मन्त्रिमण्डलमा त अहिलेको राष्ट्रपतिज्यू पनि मन्त्री हुनुहुन्थ्यो। प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर त्यत्रो मन्त्रिमण्डलबाट एक जना मन्त्रीलाई मात्र मुद्दा किन?’ उनले प्रश्न गरे।

कांग्रेसले सुरूदेखि नै उक्त जग्गा प्रकरणबारे गम्भीर र गहन ढंगले अनुसन्धान हुनु पर्ने बताउँदै आएको बताए।  अनुसन्धानमा सघाउन तयार रहेको भएपनि अहिलेको मुद्दा विषयलाई तोडमोड गर्ने गरी आएको बताए।

गच्छदारले अब मुद्दाविरूद्ध कानुनी र राजनीतिक प्रक्रिया दुबैबाट लड्ने समेत बताए। ‘उहाँले कानुनी रूपमा अदालती प्रक्रियाको पालना गर्नुहुन्छ।’ शर्माले भने।

प्रकाशित मिति: : 2020-02-07 06:35:40

प्रतिकृया दिनुहोस्