बग्दै गरेको पात हुँ

कविता

नारद भट्टराई

                                  कुमारीकाटा बाक्सा, असम

म खोलामा झरेको

बग्दै गरेको पात हुँ

थाहा छैन

       कहाँसम्म पुर्‍याउँछ

            नियतिले मलाई।

आकाशबाट अनि ब्रह्माण्डबाट

पार लाग्न धेरै आशा गरेको हुन्छु

अथार समुन्द्रमा म बगिरहेको छु

मानिसले पनि देखिरहेको हुन्छ

तर कसैले मलाई साहारा दिँदैन

किनकि

      समस्यै समस्याले झेलेको

      म रूखबाट झरेको

      बग्दै गरेको पात हुँ

म निराश्रय छु

सबैले रमिता हेरिरहेका हुन्छन्

        म बगिरहेको हुन्छु

टिपेर ब्यवहारमा ल्याउने

         कोही छैनन्

किनकि म हाँगाबाट खसेको

      पहेँली सकेको पात हुँ

समस्यै समस्याको खात हुँ

मलाइ अब कतै कसैले सजाउँदैन

राम्रो भनेर पनि मन पराउँदैन

किनकी म बगिरहेको पात हुँ

         मरणशील जात हुँ

अवधिले मलाई बिदा दि सकेको छ

   प्रविधिले मलाई हराइसकेको छ

   बृक्षले माया मारिसकेको छ।

 मलाई हेरेर दुःख मनाउने कोही छैनन्

                 रूने, हाँस्ने कोही छैनन्

मैले गरेको गुण

         कसैले गाउँछ भन्ने आश छैन

किनकि,

           म बगिरहेको पात हुँ

            हुन आँटेको लाश हुँ।।

प्रकाशित मिति: : 2020-02-09 01:38:44

प्रतिकृया दिनुहोस्