नेपाली युवा खेलाडीका कारण खेल हार्‍याैं: अमेरिकी कप्तान साैरभ

दीप सुवेदी

काठमाडाैं

अमेरिका क्रिकेट टिमका कप्तान सौरभ नेत्राभाल्करले नेपाली युवा खेलाडीका कारण खेलमा आफ्नो ब्याट्सम्यानलाई दबाव परेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालसँग ३५ रनले पराजित भएपछि बोल्दै कप्तान नेत्राभाल्करले नेपाली युवा खेलाडी सामू दबाव परेको बताएका हुन्। 

उनले करण केसी, सुशन भारी र कुशल मल्ल जस्ता खेलाडी सामू आफ्नो टिम स्तब्ध बनेको बताए। ‘युवा खेलाडी पठाएर नेपालले हामीलाई प्रेसर फिल गरायो। युवा खेलाडी भारी,करण र कुशल मल्लको तारिफ योग्य प्रदर्शनले हामीलाई खेलमा दबाव पर्यो। हाम्रेा हारकाे प्रमुख कारण नै उनीहरुकाे सामू खुलेर खेल्न नसक्नु हाे।’, उनले भने।

उनले नेपालले कुशललाई अमेरिकाविरुद्धको खेलमा डेब्यु गराउने निर्णय फलदायी सावित भएको बताए।

‘कुशल एक प्रतिभावान खेलाडी हुन्’, कप्तान सौरभले भने, ‘उनले सुरुवातदेखि नै आक्रमक खेलेका थिए।’

४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालको लागि सातौं स्थानमा ब्याटिङ गर्न आएका कुशलले विनोद भण्डारीसँग मिलेर इनिङ्स उकासेका थिए। उनीहरुले ८३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थानमा पुर्याएका थिए।

खेलमा कुशल र विनोद दुवैले अर्धशतक पुरा गरे। भण्डारीले ७९ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाए। उनलाई रस्टी थेरनले ४७ औं ओभरको तेस्रो बलमा अक्षय होमराजको हातबाट क्याच आउट गराएका थिए। 

त्यस्तै कुशलले पनि डेब्यु खेलमै अर्धशतक प्रहार गरे। उनले ५० बलमा ५० रन बनाउन ४ चौका र ३ छक्का प्रहार गरेका थिए। उनको विकेट ३५ औं ओभरको दोस्रो बलमा करिमा गोरेले लिए। कुशलले प्रहार गरेको बल एल्मोरे हट्चिनसनले समातेका थिए।

उनी सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बने।

कुशलले  १५ वर्ष ३ सय ४० दिनमा यो रेकर्ड बनाए। 

यसअघि गत वर्ष रोहितकुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए।

रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन ओडीआई क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए।

आजको खेलमा कुशलले रोहितकै ठाँउमा टोलीमा मौका पाएका थिए।

प्रकाशित मिति: : 2020-02-09 08:59:53

प्रतिकृया दिनुहोस्