सरस्वती चाैधरी र कुलबहादुर थापा बर्ष भलिबल खेलाडी घाेषित

एपिएफ क्लबकी सरस्वती चौधरी र पुरुषमा नेपाल पुलिसका कुलबहादुर थापा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल भलिबल संघले वार्षिक रुपमा आयाेजना गर्दै आइरहेकाे अवार्ड कार्यक्रममा यि खेलाडी २०७५ सालकाे उत्कृष्ट घाेषित भएका हुन्। 

शनिबार सम्पन्न तेश्राे एनभिए अवार्ड कार्यक्रममा सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लब पुरुषतर्फ २०७५ को उत्कृष्ट भलिबल टिमबाट समेत सम्मानित भयाे। दुबै टिमलाई नगद १ लाख सहित नेपाल भलिबल संघले सम्मान गर्‍याे। नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगितामा एपिएफले महिलातर्फ १० मा ९ प्रतियोगिता जितेकाे थियाे। पुलिस पुरुषतर्फ ९ मध्ये ६ खेलमा विजयी भयाे।

उदियमान खेलाडीमा महिलातर्फ उषा भण्डारी (पुलिस क्लब) र शरण सामरी क्षेत्री (टिएसी) घोषित भएका छन् । यसैगरि महिलातर्फ एपिएफका ज्ञानेन्द्र बिष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगद २५ हजारसहित सम्मान पत्र प्राप्त गरे।

       यसैगरि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप नगद ५० हजार र सम्मानपत्रले सम्मानित  गर्‍यो ।उनी ६१ सालदेखि अनवरत रुपमा नेपाली टिममा आबद्ध थिइन। न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ बिद्यालय कमिसनका उपाध्यक्ष कुमार राईलाई पनि २५ हजार नगदसहित सम्मान गरिएको थियाे। 

नेपालमा भलिबल खेलको विकासमा सहयोग पुर्‍याउनरे नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि. पिटर भान तरेललाई पनि सम्मान पत्र र दाेसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यलाई नगद २५ हजारबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति: : 2020-02-10 03:30:34

प्रतिकृया दिनुहोस्