प्रेम दिवसमा गोक्योमा आइस हकी !

संजोग आचार्य

न्युयाेर्क

कतारले सन् २०२२ को फिफा वर्ल्डकपमा विश्वभरका खेलप्रेमी पर्यटकलाई आकर्षित गर्न त्यही अनुसारको पूर्वाधार विकास गरिरहेको छ। विश्वकप आयोजना गरी कतारले खेल पर्यटनमार्फत आर्थिक छलाङ मार्ने योजना बनाएको छ। सन् २०२० को जुलाई २४ देखि जापानमा हुने समर ओलम्पिकपछि त्यहाँको अर्थतन्त्रमा पनि सुधार आउने अपेक्षा गरिएको छ। दिगो पर्यटन विकासको लागि विश्वभर अहिले खेल पर्यटनमा विशेष ध्यान दिएको देखिन्छ। 

एक तथ्याकं अनुसार संसारभर अहिले करिब आठ अर्बको हाराहारीमा खेलप्रेमी, पदाधिकारी, खेलाडी एक देशबाट अर्को देशमा भ्रमण गर्ने गर्दछन्। जसलाई खेल पर्यटनको रुपमा संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) ले ब्याख्या गरिरहेको छ। यसको बजार अपार छ। तर, हाम्रो देश नेपालमा खेल पर्यटनको विशाल सम्भावना भएर पनि त्यसको लागि पूर्वाधार तयार गर्न सकिएको छैन ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित भ्रमण वर्ष घोषणा गरेको छ। त्यो अवस्थामा खेल पर्यटनमार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रशस्त सम्भावना छ। नेपालमा र्‍याफटिङ, क्यानोइङ, रक क्लाइमिङ, बन्जी जम्पिङजस्ता खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने प्रशस्त सम्भावना छ । विनाशकारी भूकम्पको कारण आर्थिक संकट बेहोरिरहेको नेपालमा विश्वकप, ओलम्पिक र एशियाली खेलकुद गर्ने तत्काल क्षमता नभएपनि हिमाली क्षेत्रमा हुने खेलकुद गतिविधिबाट खेल पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।
 
नेपालमा  प्रेम दिवस अर्थात फेब्रुअरी १४ का दिन अन्तर्राष्ट्रियस्तरको आइस हकी र आइस स्केटिङ हुने खबरले निकै उत्साहित बनाएको छ। वास्तवमा पर्याप्त सम्भावना भएर पनि लुकेका यस्ता खेलको प्रवर्द्धन गरी खेल पर्यटन गर्न आवश्यक छ। नेपाल भ्रमण बर्ष–२०२० का संचार संयोजक पिताम्बर सिग्देलका अनुसार समुन्द्र सतहदेखि माथि ४७ देखि ५ हजार मिटरमा फैलिएको विश्वकै अग्लो स्थानमा रहेको गोक्योमा यो खेल हुदैछ। त्यो आफैमा गर्वको विषय हो । रामसार क्षेत्रको रुपमा घोषणा गरिएको गोक्योमा हुने यो खेलमा सहभागिता जनाउन विश्वदेखि खेलाडी आइसकेकाे सिग्देलले बिएल नेपाली सेवालाई बताए।
 
प्रतियाेगितामा अमेरिका, क्यानडा, भारत, रुसलगायत देशबाट खेलाडी आउने निश्चित भइसकेको छ । भ्रमण बर्ष सचिवालयको आयोजनामा हुन लागेको यो प्रतियोगिताले विश्वमा एउटा सकारात्मक सन्देश जाने देखिन्छ । ओलम्पिकमा सहभागिता जनाइसकेका खेलाडीले सहभागिता जनाउने खबरले निश्चय पनि हामीलाई खुसी बनाउँछ। 

नेपाल सरकारको खेल पर्यटन प्रवर्द्धनमा विगतमा ध्यान नगइरहेको अबस्थामा अहिले नयाँ गन्तब्यको खोजी र पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम बरदान सावित हुन सक्छ ।

प्रकाशित मिति: : 2020-02-11 11:08:49

प्रतिकृया दिनुहोस्