
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ईश्वरी राई (इशु)
उपल्लो डोल्पाकी पेमा गुरुङ नर्स बन्न चाहन्थिन्। सेतो कपडामा सजिएर उनी बिरामीको रेखदेख गर्न चाहन्थिन्। उनले कतै देखेकी थिइन्, नर्सले बिरामीको सेवा गरेको। त्यसैले उनी नर्स बनेर बिरामीकाे सेवा गर्न चाहन्थिन्।
उनी अक्सर घरमा भन्ने गर्थिन्, ‘म नर्स बनेर बिरामीहरुको सेवा गर्न चाहन्छु।’ पेमाको कुरा सुनेका उनका बाआमाले पनि भन्ने गर्थे, ‘हुन्छ, तर त्यसको लागि राम्रोसँग पढ्नुपर्छ नि!’
आफूलाई बाआमाले हौसला दिइरहँदा उनी खुबै रमाउँन्थिन्। आफ्नो सपनालाई साकार बनाउन उनी पढ्न चाहन्थिन्। तर लगातार बिरामी भएका कारण उनले पढ्नै पाइनन्।
उनलाई सानैदेखि ‘बोन टीभी’ थियो। त्यसैले उनले क्षयरोगको औषधि लिने गर्थिन्। तर उनको बिरामी निकै भएन। त्यसपछि उनी अस्पतालमा भर्ना भइन्।
अस्पतालमा बस्न थालेकी उनलाई डाक्टरले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए। तर ‘अप्रेशन’ को नाम सुनेर उनी डराउन थालिन्। अप्रेशनबाट बच्नका लागि उनले धेरै जडिबुटी खाइन्। तर केही सुधारै आएन। त्यसैले ९ वर्षकी पेमा अप्रेशन गर्न तयार भइन्।
पिठ्यूँको अप्रेशन गरेपछि खुट्टा नचल्ने डरले बसेकी उनलाई डाक्टरले भनेका थिए, ‘तिम्रो खुट्टा चल्छ, डराउनुपर्दैन।’
अप्रेशन गरेपछि पेमाले तीन महिना थेरापी गरिन्। जसकारण उनी लरखराउँदै हिँड्न सकिन्। तर विस्तारै उनले हिँड्न सक्ने क्षमता नै गुमाइन्।
खुट्टाको सहायताले हिँड्ने उनलाई अब ‘ह्वीलचियर’ को आवश्यकता पर्न थाल्यो। अरुलाई आफ्नै खुट्टाकाे सहायताले उभिएको देख्दा उनी आफैँलाई धिकार्दै सोच्थिन्, ‘म किन मरिनँ, यस्तो जीवन बाँच्नुभन्दा त मरेकै राम्रो हुन्थ्यो। म मरेको भए, अर्को जन्म त लिन पाउथेँ नि!’
गाडी नचल्ने उनको गाउँमा ‘ह्वीलचियर’ चल्ने त कुरै थिएन। त्यसैले पेमाको लागि गाउँ बिरानो बन्न थाल्यो। त्यसैले उनलाई १० वर्षको उमेरमा काठमाडौं ल्याइयो।
काठमाडौंको विभिन्न संस्थामा उनलाई राखियो तर कुनै ठाउँ उनको लागि उपयुक्त नै भएन। ‘म बसेको होस्टेलमा ह्वीलचियर जाँदैन थियो’, उनले बिएल नेपाली सेवासँग भनिन्, ‘किचेन र शौचालय जाँदा पनि घिस्रिएर जानुपर्थ्यो। मेरो लागि धेरै मुस्किल थियो।’
आफू बसेको होस्टेलमा कुनै सुविधा नपाएकी उनले ‘मेरुदण्डीय पक्षघात समूह नेपाल’ को बारेमा थाहा पाइन्। जहाँ आफू जस्तै भाइबहिनी बस्ने कुरा पनि उनले पत्तो लगाइन्।
‘यहाँका दाइहरुको कारण म यो ठाउँमा आइपुगेँ’, उनी भन्छिन्, ‘यहाँ आएपछि मलाई खुसी लाग्यो। मैले गुमाएको आत्मविश्वास पनि जाग्न थाल्यो। म जस्तै धेरै जना हुनुहुन्थ्याे।’
मेरुदण्डीय पक्षघात समूह नेपालमा उनी बस्न थालेको चार वर्ष बित्यो। उनले त्यहीँबाट २०७८ सालकाे ‘एसईई’ परीक्षा दिइन्। अब उनी कलेज पढ्ने साेचमा छिन्।
अहिले खुसी भएकी पेमा भन्छिन्, ‘पहिला नर्स बन्ने सपना थियो तर अब साधारण जागिरे बन्ने मन छ।’
०००
मेरुदण्डीय पक्षघात समूह नेपालका १९ वर्षीय सोमबहादुर गुरुङले २०७९ मा ‘प्लस टु’ को परीक्षा दिए। त्यसैले उनलाई अब एउटै कुराको दुख छ- आफू बसिरहेको संस्था छाडेर जानुपर्छ।
उनलाई संस्था छाडेर जाने रहर त छैन तर उनी आत्मनिर्भर बन्न चाहन्छन्। ‘अब म एक्लै बाँच्न सक्छु’, उनी भन्छन्।
सोमबहादुर चार वर्षअघि यहाँ आएका हुन्। उनले आत्मविश्वास नै गुमाइसकेका थिए, जब यहाँ आए, तब उनकाे जीवन नै बदलियाे। ‘यो संस्था नभएको भए सायद म अहिले जस्तो खुसी हुन्न थिएँ होला’, उनी भन्छन्, ‘मेरो जिउने आधार बन्यो मेरुदण्डीय पक्षघात समूह नेपाल।’
२०६० सालमा धादिङमा जन्मिएका उनी सानैदेखि निकै फूर्तिला थिए। उनी पढाइसँगै घरको कामकाजमा पनि निकै सिपालु थिए। घरकाे काममा सघाउन पाउँदा उनी निकै खुसी हुन्थे।
१३ वर्षका सोमबहादुरले एकदिन सहरबाट घर बनाउने सामान ल्याउँदै थिए। त्यति नै बेला उनी चढेर घर फर्किँदै गरेकाे बालुवाको ‘ट्रक’ पल्टियो। उनीलगायत ६ जना बसेको ट्रक पल्टिँदा सबैभन्दा धेरै चोट गुरुङलाई लाग्यो।
‘सुरुमा त त्यस्तो केही लागेन तर अस्पताल पुगेपछि थाहा भयो, मेरो ढाडै भाचिँएछ’, उनले भने, ‘त्यसपछि म अपाङ्ग भएँ।’ आफूलाई ह्वील चियरकाे सहारा चाहिने भएपछि उनले मनमनै साेच्न थाले, ‘अब म केही गर्न सक्दिनँ।’
धुलिखेल अस्पतालमा अप्रेशन भएपछि उनी साता दिन ‘आइसियू’ मा बसे। सपाङ्गबाट अपाङ्गता बनेका उनले डेढ महिना त अस्पतालमा नै बिताए।
अनि त्यही अस्पतालबाट उनी जोरपाटीस्थित माकलबारीको मेरुदण्डीय पक्षघात समूह नेपालमा पुगे। ‘अहिले म धेरै खुसी छु, सबै जना साथीहरु म जस्तै छन्’, उनी भन्छन्, ‘अपाङ्ग भयाे भनेर गुनासाे नगर्नु, यहाँ आएर बस्नु। हामी सबै जना यहाँ उस्तै छाैँ।’
०००
रुकुमका वरुण बुढामगरको सहारा बनेको छ, ‘ह्वीलचियर’। उनी त्यसैको मदतले हिँड्डुल गर्ने गर्छन्। सुरुसुरुमा उनलाई अपाङ्गता भएकाको जीवन मरेतुल्य हुन्छ जस्ताे लाग्थ्यो। तर मेरुदण्डीय पक्षघात समूह नेपालले उनको जीवन नै बदलिदियो। भन्छन्, ‘यो संस्थाले मलाई पुनः जीवन दियो।’
पाँच वर्षअघि उनी स्याउला काट्न रुखमा चढेका थिए। तर त्यति नै बेला उनी रुखबाट खसे, उनको ढाड भाचिँयो।
रुखबाट लडेर अस्पताल पुगेका उनको अप्रेशन भयो। अप्रेशन भएपछि हिँड्डुल गर्ने शक्ति गुमाएका उनले दुई महिना त ‘आइसियू’ मा नै बिताए। त्यसपछि उनले तीन महिना थेरापी गरे।
‘म हिँड्न नसक्ने भएपछि अस्पतालबाट घर नगइ सिधै काठमाडौंमै बस्न थालेँ’, उनले भने, ‘गाउँ जानै मन लागेन, अब त गाउँ जाने मेरो सपना मात्र हो।’
हिँड्डुल गर्न नसक्ने भएपछि उनले आत्मविश्वास गुमाइसकेका थिए। तर मेरुदण्डीय पक्षघात समूह नेपाल पुगेपछि उनमा पुनः आत्मविश्वास जाग्न थाल्यो।
‘मलाई लागेको थियो कि म मात्र अपाङ्गता छु, तर यो ठाउँ आएपछि थाहा भयो म जस्तो धेरै रहिछन्’, उनले भने, ‘अनि मभित्र आत्मविश्वास बढेर आयो।’ अहिले उनी कक्षा १२ पढ्दै छन्। ‘पढेर जागिरे बन्छु, तर ठुलो लक्ष्य छैन’, उनी भन्छन्।
मेरुदण्डीय पक्षघात समूह नेपाल कस्ताे संस्था हाे?
वि.स. २०७२ मा स्थापना भएकाे संस्था हाे, मेरुदण्डीय पक्षघात समूह नेपाल। जहाँ मेरुदण्ड पक्षघात भएका ह्वीलचियर प्रयोगकर्ताहरु छन्।
आठ वर्षअघि सुरु भएको उक्त संस्थाको मुख्य उद्देश्य भनेकै मेरुदण्ड पक्षघातपछि अपाङ्गता भएका भाइबहिनीहरूकाे आत्मविश्वास बढाउनु र कक्षा १२ सम्म पढाउनु हाे।
साे संस्थामा अहिले १० देखि २० वर्षसम्मका १५ जना भाइबहिनीहरु छन्। जसको मेडिकललगायत खानपिनको हेरचाहमा संस्थाका महासचिवसमेत रहेका केशव थापासहित संस्थाका सदस्यहरू खटिरहेका छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया