ज्ञवाली बने प्रहरीका २७ औं आईजीपी

डिल्ली पाण्डे

काठमाडाै‌ं

नेपाल प्रहरीका २७ औं  महानिरीक्षक (आईजीपी)मा  (डीआईजी) ठाकुर ज्ञवाली नियुक्त भएका छन्। बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठक उनलाई आईजीपीमा नियुक्त गरेको हो।  

गृह मन्त्रालयले डीआईजी ज्ञवालीलाई नियुक्त गर्न प्रस्ताव तयार गरेको थियो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगिएको थियो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आईजीपी नियुक्तिबारे छलफल गरेका थिए। त्यसक्रममा ओलीले ज्ञवालीकै नाम प्रस्ताव गरेका थिए।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएका छन्। खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातले मंगलबारबाट अवकाश पाउन लागेका छन्। 

यही ब्याचको वैकल्पिक टोलीमा प्रहरी प्रमुखका लागि डीआईजी ज्ञवाली र तारणी लम्साल प्रतिस्पर्धामा थिए। तर अन्यमामा ज्ञावालीले बाजि मारे। 

ज्ञवाली २०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। अन्य डीआईजीहरु जुनियर ब्याचका भएकाले ज्ञवाली आईजीपी भएका हुन्।

ज्ञवाली र लम्साल दुवै व्यावसायिक र विवादरहित प्रहरी अधिकृत मानिन्छन् तर कार्यसम्पादन मूल्यांकनका आधारमा भने ज्ञवाली लम्सालभन्दा केहि अघि छन्।

 प्रहरी नियमावली २०७२ को बढुवासम्बन्धी दफा ४१ अनुसार ‘प्रहरी अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा नायव महानिरीक्षकबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ,’ भन्ने व्यवस्था छ।

आईजीपीमा बढुवा भएका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहे आगामी असार २४ गतेसम्म मात्रै सेवामा रहने छन्। त्यसपछि २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृतहरु मध्येबाट आईजीपी चयन हुने छन्।

यी हुन् ज्ञवाली
नेपाल प्रहरीको सबै विभागमा बसेर काम गरेका अनुभवी ज्ञवाली आफ्नो ब्याचमा अब्बल मानिन्छन्। उनलाई संगठनभित्र विवादरहित अधिकृतको रुपमा चिनिन्छ।

ठाकुर ज्ञवालीकाे जन्म प्युठानको झिमरुक गाउपालिका १ मा २०२२ साल असोज २८ गरे बुवा नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीको कोखबाट माइलो सन्तान रुपमा भएको थियो। 

प्युठानको बालशिक्षा माविबाट ३७ सालमा एसएलसी उतीर्ण गरेका उनले त्रिचन्द्रबाट आईएस्सी उतीर्ण गरेका थिए। पछि उनी स्नातकोत्तर गर्न त्रिभुवन विश्वबिद्यालयमा भर्ना भए। उनले त्रिबिबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। 

२०४७ साल असार २५ गते उनी प्रहरी सेवामा प्रवेश गरेका थिए।  उनको पहिलो पोस्टिङ् नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, काठमाडौंमा भएको थियो। 

सोपछि उनी ५८ साल बैशाख १८ गते डिएसपीमा बढुवा भएका थिए। त्यसको ८ वर्षपछि अर्थात ६६ साल मंसिर ३ गते उनी एसपिमा बढुवा भएका थिए।

उनको यात्रा यतिमै रोकिएन। ७३ साल जेष्ठ १ गते  १ नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका थिए। लगतै असार २८ गते उनी  एसएसपीमा बढुवा भए।  

उनीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी तालिम केन्द्र, विमानस्थल र अपराध महाशाखामा काम गरेको अनुभव रहेको छ। 
 

 

प्रकाशित मिति: : 2020-02-12 05:41:25

प्रतिकृया दिनुहोस्