पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल

गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास सङ्घ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल विकास सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास सङ्घका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीका लागि तयार रहन र सम्भावनाका क्षेत्र पहिचान गर्न पोखराका उद्योगी–व्यवसायीसँग आग्रह गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको केही समयअघि भएको वासिङ्टन भ्रमण र उनको निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उनले सो अवसरमा विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताएका हुन्।

“गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ”, उनले भने, “सियाटलमा साना हिमाल छन्, त्यहाँ प्रशस्त स्किरिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।”

कार्यक्रममा सो संस्थाका अर्का संस्थापक सदस्य मूर्ति कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनोट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्तासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले द्विपक्षीय लगानीले नेपाली उद्योगी–व्यवसायीले सञ्चालन गर्ने उद्योग–व्यवसायको दायरा बढ्ने विश्वास व्यक्त गरे । सङ्घका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा धेरै सम्भावना भएको बताउँदै पूँजी र प्रविधि भित्र्याउन सके यहाँबाट राम्रो मुनाफा कमाउन सक्ने धारणा राखे । सङ्घका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्र पहिचान गरी सहकार्यको हात बढाउन व्यवसायीसँग आग्रह गरे। कार्यक्रममा पोखराका कृषि, उद्योग, पर्यटन तथा हस्तकलालगायतका व्यवसायसँग सम्बन्धित व्यवसायीको उपस्थिति थियो ।

प्रकाशित मिति: : 2020-02-12 21:45:13

प्रतिकृया दिनुहोस्