गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ नियुक्त भएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई राज्यले विश्वास गरेर जिम्मेवारी दिएको भन्दै त्यसलाई इमान्दारीका साथ निर्वाह गर्न निर्देशन दिएका छन्।
नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई बुधबार मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले भने, ‘राज्यले विश्वास गरेर जिम्मेवारी दिएको छ, त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘चुनौतीहरू थुप्रै छन्, कतिपय काम पूरा गर्न बाँकी छन्, ती सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रूपमा तपाईँलाई पूर्ण सहयोग हुनेछ।’
उनले सहकर्मीलाई साथमा लिएर एकतावद्ध भएर कामसमेत निर्देशन दिए। ‘तपाईँको कार्यकालको समय थोरै छ। तर, इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ’, मन्त्री थापाले भने।
भेटमा महानिरीक्षक ज्ञवालीले कानुनको पालना गर्दै शान्ति सुरक्षा कायम तथा जनताको जिउधनको रक्षाका लागि आफू कटिबद्ध भएर लाग्ने बताए।
यसअघि नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ज्ञवालीले बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेबाट आईजीपीको दर्ज्यानी चिन्ह लगाएका थिए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो। आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो।
यसअघि नायव महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए। दर्ज्यानी चिन्ह ग्रहण पछि आईजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शि तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको आक्रमण्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रसाशन मातहतको उत्कृष्ठ नमुना संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
उनले जस्तोसुकै चुनौतिमा पनि उच्च व्यवसायीक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेको समेत बताएका थिए।
योसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभारसमेत ग्रहण गरिसकेका छन्।