ललिता निवासपछि ‘पतञ्जली जग्गा’मा जोडिए माधव नेपाल, रास्वपाले भन्योः राजनीतिक प्रतिशोध

राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सरकारले पतञ्जलीको जग्गा प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा प्रवक्तासमेत रहेका सांसद मनिष झाले आफ्ना सभापति रवि लामिछानेपछि अब सरकारले माधव नेपालसँग प्रतिशोध साँध्न वयान लिइएको आरोप लगाए।

उनले अब सरकारको विरोधमा रहेका दलका नेताहरूमाथि धमाधम प्रतिशोध साँध्न लागिएको बताए।

उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको, हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं। हाम्रो पार्टी सभापतिप्रति भएको भयो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं। अब के सिके राउतप्रति आक्रमण हुन्छ कि?’

२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा विक्री भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग 
वयान लिएको खुलेको छ।

हदबन्दी छुटको जग्गा दुरुपयोग भए सरकारको नाममा आउनुपर्नेमा व्यक्तिको नाममा पुगेको थियो। माधव नेपालकै सरकारले हदबन्दी छुटको जग्गा विक्री गर्न अनुमति दिएपछि उक्त जग्गामा ‘काष्ठमण्डप बिजनेश होम्स’ले प्लटिङ गरेको थियो।

प्रकाशित मिति: : 2025-05-06 12:54:00

प्रतिकृया दिनुहोस्