कुलमानलाई हटाउँदा प्रचण्डको ‘मुटुमै गोली’ लागेजस्तो भयोः योगेश भट्टराई

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताए।

उनले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो। यो सरकारको अविशिष्ट अधिकार पनि हो। यसमा समिक्षा गर्न सकिएला। तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु- तपाईंले प्रधानसेनापतिलाई नै हटाउनु भएको थियो त? एकपटक सम्झिनु त अस्तिको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनुभयो। अनि अर्को मुख्यसचिव ल्याउनुभयो। अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईंको मुटुमै गोली लागेको जस्तो किन भएको छ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त।’

उनले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाए। संविधानको धारा ७६ (२) अनुसार प्रचण्ड प्रधानमन्त्री भन्दा प्राकृतिक र सोही धाराअनुसार ओली प्रधानमन्त्री बन्दा अप्राकृतिक भन्ने हुन नसक्ने उनको दाबी छ। उनले प्रचण्डलाई सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे।

‘विपक्षी दलको नेताले पटक-पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ- यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, विचौलिया। मलाई के लाग्छ भने मेरो यतिमात्रै भनाइ छ- सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रयास नहोस्। धारा ७६ (२) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने? यो कुन संविधानबाट उहाँले ब्याख्या गर्नुभयो?’ उनले प्रश्न गरे।

प्रकाशित मिति: : 2025-05-06 15:21:00

प्रतिकृया दिनुहोस्