२५ औं जनयुद्व दिवसः मथिंगलमा हजार प्रश्न

नेपालको अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक ब्यवस्था बिरूद्ध एक दशकसम्म लाखौं जनतालाई संगठित र ब्यवस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यही फेब्रुअरी १३ देखि २५ औं हेमन्तमा लाग्दैछ।

आफैंमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउँ सोहोर्दै  छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केही थान नेताको जीवनमा भने बसन्त बहार आएको चाही ध्रुबसत्य हो। यो पंतिकारले आफ्नो जीवनका पुरै दुई दशक स्वयंसेवी रूपमा यो आन्दोलन भित्र बिताएकाले आफ्ना केही विचारहरू यहाँ लेख्दैछु।

सन् १९९६ फेब्रुअरी १३ लाई आरम्भ बिन्दु मानिएको राजतन्त्र बिरूद्धको नेपाली कान्छो शसस्त्र बिद्रोहले पुरानो ब्यवस्थाको अन्तिम मेरुदण्ड करिब एक लाख सेना विरूद्ध एक चौथाई सेना निर्माण गरेको इतिहासको तथ्य हो।

देशका नब्बे प्रतिशत भूभागमा नयाँ सत्ताका भ्रूणहरू जन्माएको अर्को तथ्य हो, राजनीतिक तथा फौजी रूपमा पुरानो सत्तालाई हायल कायल पारेको पनि सत्य हो। सुदूर कर्णालीको अनपढ युवा सुदूर पूर्वको सामरिक नक्शा कोर्दै फौजी श्रेष्ठता कायम गरेको र देशका हजारौं फौजी ठेगानामा निर्मम हमला गरेको पनि सत्य हो। तर, पच्चिस वर्ष लाग्दै गर्दा के यी सत्यहरु सपना जस्ता लाग्दैनन्? र, केही थान नेताहरू र तिनका परिवार वा भजन मण्डली नयाँ सत्ताका मशिहा भएको मात्रै ध्रुवसत्य हो जस्तो लाग्दैन?

संविधान सभाबाट नयाँ संविधान निर्माण भएको र पुरानो ब्यवस्था आर्यघाटमा सेलाइएको सत्य हो। तर केन्द्रदेखि गाउँ गाउँ पुगेको सिंहदरबारमा जनताबाट चुनिएको भनिएकाहरू नेपालका अन्तिम राजा जस्तै ब्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ। के एउटा ब्यापारी र ठेकेदार राजा फालेर सयौं राजालाई पुनर्स्थापित गर्न लाखौं जनताले आफ्नो आँशु पसिना र  बलिदानी गरेका थिए? के समाजवाद ठेक्का पट्टा, कमिसन र भ्रस्टाचारको बाटोहुँदै आउने हो? र, वैधानिक रूपमा नियुक्त भएका केन्द्रदेखि गाउँसम्मका राजाको लागि आएको वा आउँदै गरेको समाजवादलाई आन्दोलनमा इमान्दार र क्रान्तिकारीले काँध थामिदिनुपर्ने कुरो ठिक हो? अथवा तिनलाई चुच्चे टोपी लगिदिन सल्लाह गर्नु अहिलेको सत्य होइन र?

नेपाली जनयुद्वको पच्चीसौं वर्षगाँठको स्मरण गरिरहँदा फागुन १ लाई सकभर बिर्सन खोज्ने नेतृत्वको इरादा बेपत्ता हाम्रा पत्रकार मिलन नेपालीलगाएत हजारौ असल नागरिकलाई बिर्सन खोज्ने होइन र? बेपत्ता बनाउनेलाई उन्मुक्ति, बढुवा र पुरस्कृत गर्न लाखौं घडी र पला जाग्राम हुने नेता बेपत्ता हाम्रा प्रिय कमरेडको खोजीको लागि विनय गर्दा किन सुतिरहेका होलान्?

के यीनले फागुन १ सम्झिरहेका होलान्? सत्य के हो- बेपता योद्दाको लास र सास नभेटिनु सत्य हो कि बेपत्ता गर्नेका पक्षमा सास नफेरी लाग्नु सत्य हो? के संक्रमणकालीन न्यायको कुनै गुन्जायस छ?

पीडितलाई प्रलोभन वा डर धम्कि होइन न्यायको बाटोका पक्षमा वकालत गर्नु कर्तब्य हो वा अन्याय गर्नेको शासन, ब्यापार र फुल्ली थप्न रबर स्ट्याम्प बनेर उनीहरूसँग लगनगाँठो जोड्नु पच्चीस भित्रैको क्रान्तिकारी छलाङ हो?

 ओ(अ)प्रिय सत्तासीन कमरेड यो गर्न तिम्रा हातहरू काम्दैनन्? फागुन १ तिमीले इतिहासको गौरवशाली दिन थियो भन्ने बिर्सिसकेको सत्य प्रमाण यही होइन र?

यसै फागुनमा तत्कालीन राज्यले हत्या गरेका १४ वर्षका दिल बहादुर रम्तेल अहिले चालिसको फेरोमा लाग्थे र उनी पछि क्रमशः पछिल्लो मितिमा लगातार दश वर्षसम्म मारिएका र जनताको ब्यवस्थाका लागि बिरतापूर्वक मृत्यु स्वीकार गरेका १४ हजार सुन्दर  जीवनहरूको बलिदानमाथि नैतिकहीन राजनीति गर्नु भन्दा सहिदको रगत पोखिएको माटो छोएर नैतिकहीनको भण्डाफोर गर्नु सत्यको पक्ष लिनु हो।

सहिदको बलिदानीबाट आएको र ल्याएको सार्वभौम संसदमा राजतन्त्रको कुडा कर्कटलाई उनीहरुको डाकागिरी र हत्या हिंशाको पुरस्कार स्वरूप भब्य सपथग्रहण गराउनु रातो गलैचा कुल्चिदै प्रतिक्रान्ति आँगनमा आइपुग्नु होइन र?

प्रतिक्रान्तिलाई रातो गलैचाको बाटो हुँदै स्वागत गर्ने तर क्रान्तिकारीहरू बाध्यताले देश निकाला भएकोमा क्रिसमस केक काट्नेबाट पछिल्लो क्रान्तिका उपलब्धि अपहरित भएका छन्। के ती अपहरणकर्ताबिरूद्ध बोल्नु यो युगको आवश्यकता होइन?

फागुन १ वा फेब्रुअरी १३ को सन्देश यो पच्चीस वर्ष पछि पनि यही हो कि क्रान्तिका अपहरणकर्ताहरु बिरूद्व निरन्तर आवाज जारि राखौ।

शान्ति र अन्यायको पक्षको हाम्रो आवाजले उनीहरूको स्वर्गमा खैलाबैला मच्चिन्छ भने दुन्दुभी अझै जारि राखौं। के यो अहिलेको सत्य यहि होइन र?  

आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र नयाँ संस्करणको राजतन्त्र बिरूद्ध आवाज उठाउनेलाई अझै पनि जेलमा कोच्ने प्रचलन वैबैधानिक बनाइएको छ।

अन्याय, भ्रष्ट्राचार र अशान्ति बिरूद्ध शान्ति, न्याय र शिष्टाचारमार्फत अपुरा राजनीतिक मुद्दाका लागि आवाज उठाउनेको निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्को पुस्ता जन्मनु अनिवार्य छ।

यदि ओ (अ) प्रिय सत्तासीन लाल मित्रहरु तिमि बन्दुकले होइन बिबेकले शासित छौ भने र राजनीतिक नैतिकताको झिनो अंश बाँकी छ भने, अघिल्लो राजतन्त्रदेखि पछिल्लो तिम्रो राजतन्त्रसम्मका सबै झुठ्ठा मुद्दा माघ अन्तिम दिन अगेनामा जलाउ र  फागुन १ मा निसर्त आममाफीसहित शान्तिका परेवा गणतन्त्रको नील गगनमा उड्न देऊ।

सलाम

महान नेपाली जनता

उसको अदम्य साहसको बिद्रोह

जो  महान थियो,

रहिरहने छ - यो ‘प्लानेट’ रहेसम्म।

तिमीले,

क्रान्तिकारीका हत्यारासँग

रोज  ‘रोज’ साटीरहँदा

र, उनीहरुसँगै प्रेम गर्ने ‘प्रपोज’ दोहोर्‍याउँदै गर्दा

हामी भने बिर्सने छैनौ-

फेब्रुअरी १३ को आधिहुरी,

तर बरू बिर्सनेछौं १४ को भ्यालेन्टाइन।  

प्रकाशित मिति: : 2020-02-13 20:33:50

प्रतिकृया दिनुहोस्