अंकल, नेपाल आइडलका जज 'झेली' छन् ...

म अमेरिकाको मध्यपश्चिम भूभागको कान्सास सिटीमा आइपुगेको छु। कान्सास सिटी मिजौरी नदीको दुई किनारमा रहेका कान्सास र मिजौरी राज्यमा फैलिएको छ। दुई राज्यमा फैलिएको जुम्ल्याहा सहर हो यो। 

अमेरिकाका ३३औं राष्ट्पति हेनरी ट्रयुम्यान जन्मेको यो सहर कुनै समय ट्र्युम्यान सिटीको नामले चिनिथ्यो। तर,  अहिले यो अमेरिकी फुटबलको जायन्ट टिम चिफ्स किङ्डमका कारण रेड किङ्डमको नयाँ परिचय बनाउँदै छ।

सहरको उत्तरपूर्वी भागमा कन्कोर्स पार्क र कान्सास सिटी म्युजियम छन्। यिनै दुई सुपरिचित सार्वजनिकस्थल आसपासको क्षेत्रमा नेपाली भाषा बोल्ने २२ परिवारको बसोबास छ। यहाँ उहाँहरूको परिचय भुट्निज नेपालीको छ। 

म यहाँ आइपुग्दा भुट्निज नेपालीका २८ परिवार थिए। बसाइ सर्दै जाँदा अहिले त्यो संख्या घटेर २२ मा झरेको छ। २२ मध्ये धेरै राई परिवार छन्, बाँकि क्षेत्री, घले, गुरूङ र तामाङ परिवार।

म ती २२ परिवारलाई नै चिन्छु। चिन्छु मात्र हैन, हरेक घरमा दोहोरो आउजाउ नै छ।एकआपसमा सद्भाव छ। उहाँहरू मलाई कोही डाक्टर भन्नुहुन्छ त कोही भट्टराई सर। म भने उहाँहरूलाई उमेरअनुसारको साइनो लगाउँछु। बा, आमा, दाजु भाइ, दिदी बहिनी र छोराछोरी- अधिकांशसँग यही साइनो छ। १०३ वर्षकी यो समुदायकै जेठी सदस्य हुनुहुन्छ, मनमाया घले। उहाँलाई चाँहि म बज्यू भन्छु।   

हामी सबै नेपाली भने पनि हामी र उहाँहरूबीच एउटा नजानिदो कित्ताकाट छ, उहाँहरू आफूलाई शिविरको भन्नुहुन्छ र हामीलाई बस्तीको । नेपालको झापा र मोरङका शरणार्थी  शिविरमा कष्टप्रद जीवन बिताएका उहाँहरूमा त्यो कित्ताकाँटको कारण मुटुमा गढेको छ। सितिमिति भन्न नचाहने त्यस कारणको एउटा छुट्टै लामो कथा छ, व्यथा छ।

भुट्निज नेपालीका हरेक घरमा ठूलाठूला टेलिभिजन स्क्रिन छन्। ती स्क्रिनमा युट्युव लगाइएको हुन्छ र अपवादलाई छोडेर सबैको युट्युवमा नेपाली कार्यक्रम नै चलेका हुन्छन्। इन्द्रेणी, नेपाल आइडल, भ्वाइस अफ नेपाल, कमेडी च्याम्पियन्सजस्ता कार्यक्रमहरू नछुटाई हेर्नुहुन्छ उहाँहरू ।

जब म उहाँहरूको घरमा पुग्छु, यिनै कार्यक्रमका बारेमा रिट्ठो नबिराइ बताउनु हुन्छ।उहाँहरूमध्ये अधिकांश टेलिभिजनमा जे आउँछ, त्यसलाई पूराका पूरा विश्वास गर्नुहुन्छ। कतिपय युट्युवमा आएका कुरा हावादारी हुन्छन् भन्दा पनि उहाँहरूलाई पत्याउँन गाह्रो हुन्छ।  

अहिले नेपाल आइडलको सिजन छ। उहाँहरूका घरमा नेपाल आइडलका हरेक एपिसोड धेरैचोटी लाग्छन्, लागिरहेका छन्। घरमा पुग्यो कि उहाँहरू नेपाल आइडलका बारेमा नै कुरा गरिरहेको भेटिनु हुन्छ। फलानो राम्रो छ, ढिस्काना राम्रो छैन। फलानाले जित्छ होला आदि इत्यादि। 

कान्सास सिटीमा नेपाल आइडल लगातार हेर्ने परिवारमा अधिकारी परिवार पनि पर्छ। सेन्ट जोन एभेन्युमा बसोबास गर्ने अधिकारी परिवारमा बुबा-आमा, छोरा-बुहारी र नाति-नातिना गरी ६ जनाको परिवार छ। ८० वर्ष नाघेका अधिकारी बालाई म बुबा र आमालाई आमा नै भन्छु। परदेशमा भेटिएका अधिकारी बुबा-आमाले पनि मलाई छोराजस्तै माया गर्नुहुन्छ। 

यसपटक अधिकारी परिवारको घरमा पुग्दा उहाँहरू नेपाल आइडलमा शिखर चढिरहेका १० प्रतिभाको प्रस्तुति हेरिरहनु भएको थियो। आमा बुबालाई पश्चिमा भाका त्यति जचेको थिएन।

आमाले भन्नुभयो, 'नेपाली भन्छन्,  मरिन्जेल चिच्याउँछन्, मैले त केही बुझेको छैन।'

बुबाले बिचैमा भन्नुभयो, 'जमानाअनुसारको गीत हो नि, सबै तेरा लागि मात्र कहाँ गाउँछन् त ?' 

नातिनी तिर्सना कक्षा १२ मा पढ्छिन् । उनलाई भने ती गीत पनि जचिरहेका थिए। तर, उनलाई एउटा कुरा भने जचिरहेको रहेनछ ।

हातमा रहेको रिमोट कन्ट्रोल पज गरेर बिचमै सोधिन, 'अंकल तपाई यी जजलाई चिन्नुहुन्छ ?' 

म के भनौं के भनौंको अवस्थामा पुगे। 

मैले सोधें, 'किन छोरी ?'

उनले भनिन् , 'चिन्नुहुन्छ भने मात्र भन्छु।'

मैले भने, न्ह्यु मेरो तिमी साथी नै हुनुहुन्छ। इन्दिराले पहिलो एल्बम निकाल्नु हुँदा मञ्चमा म पनि थिएँ। उहाँको एल्बमको समीक्षकका रूपमा। शायद बिर्सनु भएको छैन होला। कालीप्रसादलाई म एक प्रतिभाशाली संगीत सर्जकका रूपमा चिन्छु । उहाँले चाँहि धेरैमा मेरो नाम सुनेको सम्म हुनुहुन्छ होला।'

उनले भनिन्, ' यिनीहरू झेली छन् । तपाईको साथी त झन् झेली जस्तो लाग्यो। उहाँले बोलेपछि अरू दुईजना सही मात्र थाप्नुहुन्छ।'

मैले सोधें, 'कसरी छोरी ?'

उनले भनिन्' उहाँहरू झापाकी रचना रिमाल र काठमाडोैंकी मेघा श्रेष्ठको पक्षमा लाग्नु भएको छ। तपाईको साथी नभएको भए न मेघाले गोल्डेन माइक र हप्तैपिच्छे पर्फमर अफ द वीक पाउँथिन् न रचना टप टेनमा आउँथिन् ।'

मैले सोधें,  'हो र छोरी ?'

उनले भनिन् , 'हो अंकल। झेलीहरू ।' 

मैले सोधें, ' म के गरौ त ? '

उनले भनिन्, 'साथी भन्नुहुन्छ, हो भने मेरो कुरा सुनाइदिनु होला ।'

घर फर्केर यस सिजनका नेपाल आइडलका अधिकांश श्रृंखला हेरें। मलाई पनि कता कता उनको भनाइमा दम छ कि जस्तो लाग्यो। 

अमेरिकाको मध्यपश्चिम भूभागमा आएर पहिलो सिजनदेखिकै नेपाल आयडलका सबै एपिसोड नबिराई हेर्ने तिर्सना यस कार्यक्रमकी खास दर्शक हुन्।उनी नेपाली भाषी मात्र हुन्, उनको कसैप्रति प्रोक्सिमिटी पनि छैन। नहुँदानहुदै पनि उनी किन यस्तो भनिरहेकी छिन् ? नेपाल आइडलको भलाइकै लागि त होला।

मलाई यस्तै लाग्यो, त्यसपछि केही लेख्ने विचार गरें। फेरि सोचें, नलेखौ होला। मनमा द्विविधाले झुत्ती खेलिरहेको थियो।

स्कुलबाट फर्किरहेकी तिर्सनासँग भेट भयो । उनले सोधी हालिन्, 'सुनाइ दिनु भयो त अंकल ?'

मैले भने, ' छोरी, माफ गर। मैले त भुतुक्कै बिर्सेछु। तर, आज म पक्कै पनि सुनाइ दिन्छु।'

घर फर्केर लेख्न सुरू गरें, अंकल झेली छन् नेपाल आइडलका जजहरू।'

प्रिय न्हयु, यो मेरो शीर्षक हैन। नेपाल आइडलकी डाइहार्ट फ्यान तिर्सनाको मनमा लागेको प्रश्न हो । म यो प्रश्न यसकारण पठाइरहेको छु कि उनी रैथाने नेपाली हैनन्, नेपाली भाषी मात्र हुन्। अमेरिकाको मध्यपश्चिमी भूभाग क्यान्सास सिटीमा रहेर नेपाल आइडल नछुटाइ हेर्ने उनको यो शंकाको निवारण हुनुपर्छ भनेर लेखेको हुँ। यसमा केही दम छ भने सम्बोधन गरिदेऊ। त्यसो गर्दा न तिमी सानो हुन्छौं, न इन्दिरा र कालीको कद नै घट्छ।

यदाकदा मलाई पनि तिमीहरूको जजमेन्टले झड्का दिन्छ। तर, पनि म यसै हो भनेर जजमेन्टल हुन सक्दिन। किनकि, म संगीतकर्मी हैन। बढीमा गीतकार हुन सकुँला। यद्यपि, म एक संगीत समीक्षक चाँहि थिएँ र हुँ पनि। तिमीलाई पनि थाहा होला, कुनै समय यस्तो थियो नेपालमा मबाट संगीत समीक्षा गराउन संगीतकर्मीहरू पनि लालायित हुन्थे। मानिसहरू भन्थे, कसैलाई बाँकि राख्दैन। यसले राम्रो भन्यो भने चाँहि राम्रै हुन्छ।'

यसो हुनुको एउटा कारण म नेपालको पहिलो र सम्भवत: अहिलेसम्मकै एकमात्र आइएफएमसीए (इन्टरनेशनल फिल्म म्युजिक क्रिटिक्स एशोसियसन) को सदस्य थिएँ र हुँ। मैले नेपालमा मात्र हैन, विश्व संगीतमै अर्थ राख्ने एक आलेख लेखेको थिएँ 'सुन्ने संगीतको चिहानमाथि हेर्ने संगीतको जन्म'। अझै पनि आइएफएमसीएले त्यस समीक्षालाई एक कालजयी समीक्षाका रूपमा रेटिङ गरेको छ। मलाई अझै याद छ, आइएफएमसीए सदस्यता पाएको अर्को दिन म इन्दिराको गीति एल्बमको समीक्षा गर्न नेपाल पर्यटन बोर्डको प्रेक्षालय पुगेको थिएँ। मैले भनेको थिएँ, 'इन्दिरा हेर्ने सङ्गीतकी एक सम्भावना बोकेकी स्वर हुन्। उनी नेपाली संगीतको त्यो जनरामा लामो रेसको घोडा हुन सक्छिन्- वायुपंखी वा घिसिपिटी त्यो चाँहि उनको इमान, जमान र समर्पणमा भर पर्छ।'

प्रसंग नेपाल आयडल सिजन ३ को हो। जजहरूका बारेमा एक जना दर्शकले आरोप लगाइरहेकी छिन्-  अंकल, नेपाल आइडलका जज 'झेली' छन् । उहाँहरूले झेल गरेकै कारण रचना टप टेनमा पुगेकी छिन् भने मेघालाई गोल्डेन माइक र हप्तैपिच्छे पर्फमर अफ द विकलगायत बनाइदैछ। 

फेरि पनि भन्छु, प्रिय न्हयु, यो मेरो आरोप हैन। नेपाल आइडलकी डाइहार्ट फ्यान तिर्सनाको मनमा लागेको प्रश्न हो । म यो प्रश्न यसकारण पठाइरहेको छु कि उनी रैथाने नेपाली हैनन्, नेपाली भाषी मात्र हुन्। अमेरिकाको मध्यपश्चिमी भूभाग क्यान्सास सिटीमा रहेर नेपाल आइडल नछुटाइ हेर्ने उनको यो शंकाको निवारण हुनुपर्छ भन्ने मलाई लाग्छ । यसमा केही दम छ भने सम्बोधन गरिदेऊ। त्यसो गर्दा न तिमी सानो हुन्छौं, न इन्दिरा र कालीको कद नै छोटो हुन्छ।

आखिर हामी सबैले चाहेको नेपाली सङ्गीतकै जय हो । यसका लागि कसैलाई काखा र पाखा गरिनु हुदैन। प्रतिभाको सही परख हुनुपर्छ।

हामीले के पनि हेक्का राख्नुपर्छ भने हिजोआज नेपाली सङ्गीतका स्रोता/दर्शकको चेतनास्तर निक्कै माथि छ। नेपाल आयडलका जजले गर्ने पाँचवटा सदावहार कमेन्टभन्दा बढी उनीहरूलाई थाहा छ किनकि यतिबेला छिमेकमै इण्डियन आयडल पनि चलिरहेकै छ। त्यो हेर्ने अवसर उनीहरूको रिमोटको एक बटन क्लिकभन्दा पर मात्र छ । 

 

 

प्रकाशित मिति: : 2020-02-13 21:41:30

प्रतिकृया दिनुहोस्