जापानमा काेराेना भाइरसकाे सङ्क्रमणबाट एक महिलाको ज्यान गयाे

जापानमा कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको छ। योसँगै चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो। यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ। 

जापानका स्वास्थ्य मन्त्रीका अनुसार ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ। 

गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा स्थान्तरण गरिएको थियो। 

दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको बताइएको छ, सङ्क्रमितमध्ये एक जना राजधानी टोक्योका हुन्। यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ। 

केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ। 

यसैबीच कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजारभन्दा बढी छ। चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएको छ। 

प्रकाशित मिति: : 2020-02-14 20:49:30

प्रतिकृया दिनुहोस्