गोक्यो तालमा आइस स्केटिङ र हकीमा रमाए विदेशी खेलाडी 

नेपाल भ्रमण वर्ष २०२० सचिवालयको महत्वकांक्षी प्रोजेक्ट हो, स्केट नेपाल। ४७९० मिटर उचाईमा रहेको गोक्यो लेकमा शुक्रबार अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीले आइस स्केटिङ र आइस हक्की प्रतिष्पर्धा गरे। मैत्रीपूर्ण खेल हेर्न राजधानीबाट विभिन्न देशमा राजदूत, एयरलाइन्स, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) का पदाधिकारी लगायत स्थानीयबासीको बाक्लो उपस्थित थियो।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य, यस कार्यक्रमका संयोजक विश्वम्बर घिमिरे लगायतको सहभागितामा आयोजित प्रतिष्पर्धामा विदेशी खेलाडीले समेत नयाँ अनुभव बटुलेका थिए। यति ठूलाे उचाईमा उनीहरुको अनुभव पनि पहिलो हो । त्यसैगरी काठमाडौं क्षेत्र नं. ८ का सभासद जीवनराम श्रेष्ठ, मिस नेपाल श्रृंखला खतिवडा, ब्लगर शिशम बाँनिया, खेल स्थल रहेको सोलुको खुम्बुखासाङलामु गाउँपालिका वडा नंं. ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । 

नेपाल भ्रमण वर्ष–२०२० ले पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तब्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्य अनुसार सगरमाथा क्षेत्रको गोक्यो ताल (तेश्रो) मा फ्रेबुअरी १४ का दिन मैत्रीपूर्ण आइस हकी र आइस स्केटिङ प्रतियोगिता आयोजना गरिएको हो । 

कार्यक्रममा नेपालस्थित फ्रान्सेली राजदूत फाँस्वा जाभिए लेजे, फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेन्, विश्व बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्वोस, टर्कीस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टुनकरको समेत सहभागिता थियो । त्यसैगरी नेपाल एयरलाईन्स, हेली एभरेष्ट, समिट एयरलाइन्स, होटेल हाइकर्स इनका पदाधिकारीको पनि उपस्थिती थियो ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरे अनुसार विदेशी पर्यटक आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । त्यसैमध्य यो अर्को एउटा कार्यक्रम हो । हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटक भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले जानकारी दिए । 

विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिता प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार खेल आयोजना गरेको हो। यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हकी र आइस स्केटिङ प्रतियोगिता पनि हो । 

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मूख्य रोजाइको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हकी र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ।

यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य ताल रहेका छन । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो । 

गोक्यो क्षेत्रमा हुन लागेको आइस स्केटिङ र आइस हकी प्रतियोगितामा ट्रेकिङ एजेन्सी एशोसियन अफ नेपाल (टान)को समेत सहयोग रहेको छ। नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुज समेत सहयोग गरेको छ । त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हकीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ।

१. लोरा कोट्लोस्की

लोराको परिचय धेरै छन् । उनी लेखिका हुन्।सन् २०१७ नोभेम्बरमा अमेरिकाको सबैभन्दा उच्च हिमताल (१३ हजार ४ सय २०) मास्केटिङ गर्ने पहिलो व्यक्तिको ररुपमा उनलाई चिनिन्छ । त्यसबाहेक लोरा चलचित्र निर्माण‚ पर्वतारोही‚ यूएस फिगर स्केटिङ स्वर्ण विजेता‚ प्रोफेसनल स्केटर एसोशिएसनको कोच र लर्न टू स्केट यूएसएमा प्रशिक्षक समेत हुन् ।

२. जेरेमी एबट (अमेरिका)

पूर्व अमेरिकी फिगर स्केटर हुन् जेरेमी । सन् २०१० को विन्टर ओलम्पिकमा उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए। यसैगरी सन् २०१४ को विन्टर ओलम्पिक्समा टिम इभेन्टमा कास्य पदक जितेका थिए। सात पटकसम्म ग्य्राण्ड प्रिक्स सिरिजमा पदक विजेता (तीन स्वर्ण‚ दुई रजत र २ कास्य विजेता) हुन्।

३. मटेज सिलेकी

अमेरिकी आइस स्केटर मटेज सिलेकी उत्कृष्ट खेलाडी हुन् । विभिन्न विधामा एकल तथा सामूहिक रुपमा खेल खेलिसकेका उनी सन् २०१२ मा यूएस कोलिजिएट फिगर स्केटिङअन्तर्गत पुरुष जुनियरतर्फ विजेता हुन्।

३. पिटर

पिटर लेखक मात्र हाेइनन् उनी मार्मट एथेलेट‚ चट्टान विशेषज्ञ‚ आइस र अल्पाइन् क्लाइम्बर, रक एण्ड आइस पत्रिकाका वरिष्ठ सम्पादक र स्पोर्ट अफिल्ड एण्ड ब्याकप्याकरका कन्ट्रिब्युटर पनि हुन्। उनले भारत‚ नेपाल र काराकोरमका हिमालयसम्बन्धित अभियान सञ्चालन विज्ञ
इएसपिएन विन्टर एक्स–गेमका प्रतिस्पर्धी‚ पर्वतारोहीलाई लिएर तीन पुस्तक लेखिसकेका छन्। नेशनल जिओग्राफिक (क्लाइम्ब! एण्ड यान आइ एट् द टप अफ द वर्ल्ड) कोप ड्यास इन्सपायर अवार्ड‚ २००९ द्वारा सम्मानित उनी लिम्यान स्प्रिट्ज अवार्ड‚ २००७ बाट पनि सम्मानित लेखक हुन्। 

४. एलिजावेथ पुटनाम

उनी पूर्व क्यानडेली डवल स्केटरमा सिन विर्ट्जसँगका प्रतिस्पर्धी हुन्। उनी २००६ फोर कन्टिनेन्ट्स कास्य पदक र दुईपटक क्यानडेली राष्ट्रिय कास्य पदक विजेता (२००३‚ २००४) समेत हुन्। विर्ज घाइते भएपछि ग्य्राण्ड प्रिक्सबाट आफ्नो असाइन्मेन्ट फिर्ता लिनुपरेकाले सन् २००७ मा पुटनाम र विर्ज दुबै जनाद्वारा रिटायर्मेन्टको घोषणा भएको थियो। फेरि एलिजावेथ एकलतर्फको स्केटिङ प्रतियोगितामा फिर्ता भएकी थिइन्। त्यसपछि उनले जिल म्यारी हार्भे र जन्नी म्याक्लियोडसँग ट्रेनिङ लिएकी थिइन। सन् २०१५ मा विड्जियन लेकमा स्केटिङ खेल्दै गरेको भिडियोमा उनी देखिएकी थिइन्।

५. प्याट्रिक चान

चान पूर्व क्यानडेली कम्पेटिटीभ फिगर स्केटर हुन्। उनी २०१८ ओलम्पिक टिम इभेन्टकाे स्वर्ण विजेता थिए। साथै उनी २०१४ ओलम्पिक पुरुषतर्फ र टिम इभेन्टमा रजत पदक विजेता हुन्। त्यति मात्रै नभइ चान तीनपटक विश्व विजेता (२०११‚ २०१२‚ २०१३) पनि हुन्।

यसैगरी चान दुईपटक ग्य्राण्ड प्रिक्स फाइनल विजेता (२०१०‚ २०११)‚ र तीनपटक फोर कन्टिनेन्ट्स विजेता (२००९‚ २०१२‚ २०१६) पनि हुन्। चानले यसबाहेक जनवरी २०१८ मा मोन्ट्गोमेरी विलसनको सन् १९३९ देखिको रेकर्ड तोड्दै नेशनल टाइटल जितेका थिए।

सन् २०११ अप्रिल २७ मा सर्ट प्रोग्रामअन्तर्गत ९३.०२ अङ्क ल्याएर चानले विश्व कीर्तिमानी राखेका थिए। २०११ अप्रिल २८ मा फेरि फ्री स्केटिङमा जम्मा २८०.९८ अङ्क ल्याएर विश्व कीर्तिमानी कायम गरेका थिए। उनले लोउ मार्स अवार्डमा क्यानडेली सर्वोत्कृष्ट एथ्लेटको रुपमा अवार्डसमेत पाएका थिए।


६. सर्गे भोरोनोभ

भोरोनोभ रसियन फिगर स्केटर हुन्। २०१७ काे आइएसयू प्रिक्स एनएचके ट्रफी विजेता हुन् भने २०१७ स्केट अमेरिकामा स्वर्ण जितेका थिए। भोरोनोभ दुई पटकको युरोपेली पदक विजेता पनि हुन्। उनले २०१४ मा रजत र २०१५ मा कास्य जितेका थिए। उनले ग्य्राण्ड प्रिक्स फाइनल २०१४–१५ मा कास्य जितेका थिए। साथै २०१० को रसियन फिगर स्केटिङ च्याम्पियनशिपमा रजत पदक हात पारेका थिए। भोरोनोभ दुई पटकसम्म विश्वकाे जुनियर पदक विजेता‚ २००६ मा रजत र २००७ मा कास्य विजेता हुन्।

७. डिमिट्री डुडारेभ

पूर्व काजाक व्यवसायिक आइस हकी खेलाडी हुन्। उनले कन्टिनेन्टल हकी लिगमा मेटालर्ग नोभोकुज्नेट्स्कका तर्फबाट खेलेका थिए। २०१० को आइआइएचएफमा सहभागी भई काजकिस्तानको राष्ट्रिय आइस हकी टिमको सदस्यका रुपमा विश्व विजेता भएका थिए।

८. अलेक्जेन्डर चेकासेभ

चेकासेभ रसियन हकी लिग (आरएचएल) मा सहभागी भइसकेका छन्।  उनले पर्भेया लिग र डिजेल कपमा समेत सहभागिता जनाइसकेका छन्।

 

प्रकाशित मिति: : 2020-02-15 11:50:57

प्रतिकृया दिनुहोस्