गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने तयारी

नेपाली सेनाले १० हजार बुलेट नमुना परीक्षण गर्न दक्षिण कोरिया पठाउने भएको छ। सेनाले नेपालमै गोली उत्पादन गर्न ‘एम्यूनिसन प्लान्ट’ खरिद गर्दै छ। उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको हो। ५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट कप परीक्षण गर्न कोरियामा पठाउन लागिएको हो।

२०७३ साउन ७ मा मन्त्रिपरिषद्ले नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो। गत वर्ष मंसिरमा अर्थ मन्त्रालयले सेनालाई ७.६२ एमएमको एम्यूनिसन प्लान्ट स्थापना गर्न दुई अर्ब ४५ करोड रुपैयाँ निकासा दिएको थियो। सेनाले १० हजार गोलीगठ्ठाको परीक्षण सफल देखिएमा स्वदेशमै गोलीगठ्ठाको उत्पाद नहुने बताएको छ। उक्त गोलीगठ्ठा परीक्षणपछि सोही आधारमा मेसिन आपूर्ति हुनेछ।

यो प्लान्ट सेनाले कोरियाली कम्पनी पुङसान कर्पोरेसनमार्फत खरिद गर्न लागेको हो। सन् २०१८को जुन ३ मा भएको सम्झौताअनुसार गोलीको नमुना परीक्षणको खर्च उत्पादक कम्पनी आफैले बेहोर्नेछ। गत जनवरी २३ मा कम्पनीले परीक्षणको खर्च आफैले बेहोर्ने जानकारी गराइसकेको छ।

नमुना परीक्षणपछि गोलीगठ्ठा पुनःप्रयोगमा ल्याउन नमिल्ने सेनाले जानकारी दिएको छ। सेनाले सुन्दरीजल आर्सनल कार्यालयमा प्रयोग भइरहेको ५.५६ एमएम बुलेटको नमुना पठाउनेछ।

प्रकाशित मिति: : 2020-02-17 22:41:25

प्रतिकृया दिनुहोस्